टिप्पणी

किन सार्वजनिक हुँदैन सांसदहरूको सम्पत्ति विवरण ?

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको ६ महिना बितिसकेको छ । तर, कुनै पनि राजनीतिक दलका सांसद तथा स्वतन्त्र सांसदले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । कुन सांसदको सम्पत्ति कति छ ? जनतालाई छोडौँ, सरकारलाई पनि थाहा छैन । कानुनमा सांसदले अनिवार्य सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्ने उल्लेख छ । जनताले पनि आफूले चुनेर पठाएको सम्पत्तिबारे जानकारी पाउनुपर्छ । यद्यपि, सांसदले आफ्नो सम्पत्ति लुकाउन खोजिरहेका छन्, किन ?

भुटानी शरणार्थी प्रकरण बाहिर आएपछि अहिले सदनमा भ्रष्ट्राचारविरुद्धको अभियान चलेको छ । भ्रष्ट्राचारीलाई कारबाही गर्नुपर्छ भनेर अधिकांश सांसद सदनमा उफ्रिरहेका छन् । तर, यिनीहरूकै सम्पत्ति कसले छानबिन गर्ने ? सदनमा सबैभन्दा धेरै चिच्याउनेमा पर्छन्, कांग्रेसका महामन्त्री गगन थापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलाई भ्रष्ट्राचारविरुद्धको विषय उठाएर भ्याइनभ्याइ छ । जतिबेला पनि २०४६ सालभन्दा पछाडिको नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै कराइरहेका हुन्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो टेलिभिजनमा बसेर चर्चा कमाए । त्यसकै आडमा उनी सांसदसम्म आइपुगे । यता, गृहमन्त्री पनि बने । यद्यपि, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन्, किन ? किन कि टेलिभिजनमा बसेर अर्कालाई थर्काएर, धम्काएर जोडेको सम्पत्ति लुकाउनु जो छ । नेताहरू सबै भ्रष्ट्राचारी हो भन्ने उनी आफूचाहिँ चोखो छन् ? अरूमाथि हिलो छ्याप्नुअगाडि आफूले के गरेको छु भन्ने त हेरौँ । नेकपा एमालेका महेश बस्नेत पनि अहिले भ्रष्ट्राचारविरुद्धको अभियानमा लागेका छन् ।

भ्रष्ट्राचार रोक्नुपर्छ भनेर उनी त सडकसम्म आइपुगेका छन् । ज-जसले धेरै भ्रष्ट्राचार गरेका छन्, तिनीहरू नै यतिबेला भ्रष्ट्राचारविरुद्धको अभियानमा लागेका छन् । आफ्नो कर्तुत लुकाउनका लागि नेताहरू अभियानमा जोडिएको छर्लङ्ग छ । कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण र एमालेका निलम्बित सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीभन्दा बढी भ्रष्ट्राचार गर्ने त अहिले सदनमा चिच्याइरहेकाहरु होलान् । सांसदहरुको सम्पत्ति छानबिन गर्ने हो भने पूरा सदन रित्तिन बेर छैन ।

सदनमा सबै ‘दलाली’ सांसद मात्र छन् । कुनै जग्गा दलाल गरेर आएका छन् कुनै सेयर । मेडिकल दलाली, निर्माण दलाली, म्यानपावर दलाली, ठेकेदारलगायतले सदन भरिपूर्ण छ । दलाली पृष्ठभूमिबाट आएका व्यक्तिलाई भ्रष्ट्राचार विरोधी नारा लगाउन सुहाउँछ ? जनताले अलिक राम्रो ठानेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि यतिबेला यही टोलीमा परेका छन् । होइन भने उनले आफ्नो सम्पत्ति किन सार्वजनिक गरेनन् ? नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल पनि अरूभन्दा फरक रहेनछन् ।

उनले पनि अहिलेसम्म व्यक्तिगत सम्पत्तिबारे सरकार र जनतालाई जानकारी गराएका छैनन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंह भ्रष्ट्राचारविरुद्ध बोल्न नपाएको भन्दै सदनमा अर्धनग्न भए । उनले सदनमा सर्ट र गन्जी फुकालेको पूरा दुनियाँले देख्यो । त्यही दिन उनको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । त्यति नै भ्रष्ट्राचारविरुद्ध बोल्न मन छ भने पहिले आफूले गरेको भ्रष्ट्राचारबारे मुख खोले भइहाल्यो ।

किन कि उनी पनि अन्यजस्तै हुन् । आफ्नो सम्पत्ति पहिले सार्वजनिक गर्न सक्नुपर्छ अनि मात्र अरूको बारेमा टिप्पणी गर्दा उचित होला । चर्चामा आउनका लागि जे पनि बोलिदिने, जे मन लाग्यो त्यही गरिदिने ? यो त भएन नि । अरूमाथि हिलो छ्याप्नलाई पहिले आफ्नो छवि सफा हुनुपर्‍यो । अनि मात्र हिलो छ्यापेको सुहाउँछ । होइन भने अरूमाथि औँला नउठाउँदै बेस होला । कानुनको दायरामा पुगिसकेकालाई गाली गरेर केही हुनेवाला छैन । बरु, को को भ्रष्ट्राचार गरेर पनि बचेका छन्, तिनको बारेमा बोलौँ ।

अहिलेका सभामुख देवराज घिमिरेले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सभामुख आफैँ त कानुन उल्लङ्घन गर्नतर्फ लागेका छन् भने सांसदले उनको सिको सिक्नु त स्वाभाविकै हो । सभामुखदेखि लिएर सांसदलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न किन डर लागिरहेको छ ? जनताले यसलाई कसरी बुझ्ने ? बिचौलिया सांसदहरुले कतिन्जेल जनताको आँखामा छारो हाल्ने ? जनता र मिडियालाई झुक्काएर सांसद बनेकाहरूले सम्पत्ति सार्वजनिक गर्दैनन्, सरकारले नै खोतल्नुपर्छ ।

सांसदमा निर्वाचित भएका आएकाहरूले सरकारबाट पाउनुपर्ने हरेक सेवासुविधा लिइरहेका छन् । सरकारी गाडी चढेका छन्, मासिक तलब बुझ्छन्, बैठकपिच्छे भत्ता लिन्छन् । देशविदेश घुमेका छन् । सांसदको सेवासुविधा लिएका उनीहरूले सांसदले पालना गर्नुपर्ने नियमकानुन मान्नुपर्छ कि पर्दैन ? अहिले सदनमा भ्रष्ट्राचारविरुद्ध बोल्नेको ओइरो लागेको छ । त बोल्ने कि म भनेर हानथाप चलिरहेको हुन्छ । त्यसरी नै सम्पत्ति सार्वजनिक गर्न हानथाप गरेको भए हुन्थ्यो ।

बुरुकबुरुक उफ्रिनुको साटो आफ्नो कामलाई प्राथमिकता दिएको भए आज देश कहाँ पुग्थ्यो । कराउने बेलासम्म त्यही हुन्छन्, ऐन पास गर्ने बेलामा कुलेलम ठोकिहाल्छन् । सांसदको सङ्ख्या नपुगेर कति ऐन रोकिएको छ । सदनको आफ्नै नियम होला तर कसले टेर्ने ? कोही प्यान्ट र टिसर्ट लगाएर पुगेका हुन्छन् । नेपाली नभई विदेशी पोसाकलाई प्रोत्साहन गर्ने काम सांसदहरुले गरिरहेका छन् । कतिपय सांसद सदनमा मस्तसँग निदाइरहेका हुन्छन् । सदनमा के भइरहेको छ ? उनीहरूलाई केही अत्तोपत्तो हुँदैन ।

उनीहरूलाई सुत्नका लागि तलब दिइएको हो ? सदन सुत्ने ठाउँ हो । कोही चल्दै गरेको सदनमा लुगा फुकालिदिन्छन् । सदन लाइभ चलिरहेको हुन्छ, देश विदेशले हेर्छन् भन्ने यिनीहरूलाई थाहा छैन ? कि थाहा भएर पनि जानाजान बुझ पचाएका हुन् ? अब ड्राइभर, खलासी हुने क्षमता नभएकालाई सांसद बनाएपछि यस्तै परिणाम आउनु स्वाभाविकै हो । नेपालको बदनामी गर्नतिर लागिपरेका छन्, सांसद । हालैमात्र धादिङमा एक युवाले आत्महत्या गरे ।

२१ सय रुपैयाँ शुल्क नतिरेपछि विद्यालयले उनलाई प्रवेश पत्र दिएन । स्कुलले प्रवेश पत्र नदिएपछि उनले आत्महत्याको बाटो रोजे । शुल्क तिर्न नसक्दा विद्यार्थीहरू आत्महत्या गरिरहेका छन् । पढ्ने उमेरका नेपाली जनताका छोराछोरी खाडी पुगिरहेका छन् । देशको अर्थतन्त्र तहसनहस बनेको छ । जनता र राष्ट्रका लागि केही काम नगर्ने सांसदलाई किन तलबभत्ता खुवाउने ? जनताको समस्या ज्युँको त्यु छ, अनि यिनीहरूलाई किन पोस्ने ? सांसद हुँदा पनि देशको अवस्था उस्तै छ, नहुँदा पनि उस्तै ।

राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भइरहेको छ । मुलुकले कहीँकतैबाट निकास पाउँछजस्तो देखिँदैन । किन कि नेताहरू पहिले आफू सुध्रिनुपर्‍यो । जनताहरू पनि कार्यकर्ता होइन, देशको नागरिक बन्नुपर्‍यो । आफ्नो पार्टीको नेताले जतिसुकै नराम्रो काम गर्न पनि मुखमा बुझो हालेर बस्ने कार्यकर्ता अर्काको पार्टीको विरोधमा बुरुकबुरुक उफ्रिन्छन् । साँच्नै नै भ्रष्ट्राचार निर्मूल पार्नु छ भने पहिले आफ्नो पार्टीबाट थालौँ । होइन भने नौटङ्की नदेखाऔँ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । ३२ दिन गृहमन्त्री हुँदा लामिछाने आफैँले पनि धेरै ‘सेटिङ्ग’ मिलाएको बाहिर आएको थियो । त्यसैले अन्यलाई नानाथरी गाली गरेर आफू बच्ने प्रपञ्च नरचौँ । यहाँका सबै नेता भ्रष्ट्राचारी छन्, सबैलाई कारबाही गरौँ । युवा नेता भनिएका गगन थापाको सम्पत्ति छानबिन गर्ने हो भने बालकृष्णको भन्दा १० गुणा बढी होला ।

हुन त दुवै मन्त्री भएका व्यक्ति हुन् । दुवै टन्न पुर्ख्यौली सम्पत्ति भएका खानदानबाट आएका पनि होइनन् । महेश बस्नेतले थुप्रै व्यापार व्यवसायमा लगानी गरेका छन् । जग्गा प्लानिङदेखि लिएर होटल व्यवसाय र निजी स्कुलमा उनको धेरै लगानी भएको बताइन्छ । यत्रो सम्पत्ति कहाँबाट आयो ? पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको पाँच महिना पुग्न थाल्यो । तर, उनले आफ्नो मन्त्रिमण्डलमा बस्ने कुनै पनि मन्त्रीको सम्पत्ति छानबिन गरेनन् ।

साँच्नै नै देश बनाउने र भ्रष्ट्राचार हटाउने हो भने सरकारी कर्मचारीदेखि लिएर नेता र व्यवसायीको सम्पत्ति छानबिन गर्नुपर्छ । गलत रूपले कमाएको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । भ्रष्ट्राचार गर्नेहरूलाई प्रहरी खोरमा लगेर हाल्नुपर्छ । सबै भ्रष्ट्राचारी भएको देशमा एउटाले सजाय पाउँदा अर्को चर्चामा आउने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *