चिवाभन्ज्याङ नाका सञ्चालन गर्न भारतसँग छलफल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता छ : आङ्बो

काठमाडौँ । कोशी प्रदेशका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मध्य पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
आजदेखि ४ दिने भ्रमणमा प्रधानमन्त्री भारत जाँदै छन् । यसै सन्दर्भ पारेर आङ्बोल प्रधानमन्त्री प्रचण्डलाई भेटेर गरेकाे कुराकानी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
उनले मङ्गलवार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रिय गौरवको मध्य पहाडी सडकले जोड्ने चिवा भन्ज्याङ नाका सन्चालन गर्न सरकारले प्राथमिकतासाथ अगाडि बढाउनेबारेका छलफल गरेको बताएका छन् ।
आङ्बोले लेखेका छन् ‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण कार्य अगाडि बढिरहेको मध्य पहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रेको निम्ति सरकारले प्रत्येक आ ब मा प्राथमिकताका साथ बजेट विनियोजन गरिरहेको छ तर मध्य पहाडी राजमार्गको प्रारम्भ बिन्दु चिवाभन्ज्याङ नाका कहिले खुल्ने भन्ने सबैमा चिन्ता र चासो व्याप्त रहेको छ। सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्युको यसपालिको भारत भ्रमणको मिति निश्चित भएपछिको भेटमा चिवाभन्ज्याङ सिक्किम भारत अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्न भारत सरकार सङ्ग प्रारम्भिक प्रक्रिया थालनीको निम्ति आवश्यक छलफल होस भनेर आग्रह गरेको छु। राष्ट्रिय गौरवको मध्य पहाडी सडकले जोड्ने “चिवा भन्ज्याङ” नाका सन्चालनलार्इ सरकारले प्राथमिकतासाथ अगाडि बढाउने र त्यसको निम्ति भारत सरकारसँग छलफल प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,हामी आशावादी छौँ। सम्माननीय प्र.म ज्युको भारत भ्रमण ऐतिहासिक रूपमा सफल रहोस् शुभ यात्रा ।’








