भारत भ्रमणमा सरकारले कुनै गलत सम्झौता गर्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा जानकारी दिँदै सांसद माधव सापकोटाले भने, ‘भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने कुरा गर्नु भएको छ । उहाँले नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने समेत संसदीय दलको बैठकमा बताउनु भएको छ ।’
आज सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेन्डाका बारेमा जानकारी गराएका हुन् ।
यस्तै, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । यनले भनिन् , ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।’
भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन । अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । ‘आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।
प्रधानमन्त्रीसहित पाँच जना मन्त्री भोलिबाट ४ दिनका लागि भारत भ्रमणमा जाने मिति तय भइसकेको छ ।








