आगजनी र तोडफोड नगर्ने सहमतिपछि पक्राउ परेका २६ जना पहिचानवादी छुट्दै

विराटनगर । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिलाई छाड्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा मोरङमा आज दिउँसो कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेको आन्दोलनको विषयलाई लिएर मोरङ जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिहरू लगायतको उपस्थितिमा भएको छलफल पछि उनीहरूलाई छाड्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

पक्राउ परेका २६ जनालाई बिना शर्त रिहाइको माग गरेका पहिचानवादीले आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति गरेका छन् । प्रशासन र आन्दोलनकारीका बिचमा भएको सहमतिमा प्रदेश १ को पुनः नामाकरण संयुक्त संघर्ष समिति लगायतका असहमत पक्षबाट विरोधका कार्यक्रमहरु भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पुर्याउने कार्य नगरी कानुन सम्मत शान्तिपूर्ण रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ।

जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरू छुटेपछि आम हडताल फिर्ता लिने निर्णय भएको छ । उनीहरूलाई आजै छाड्ने प्रशासनले तयारी गरेको छ । किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले पक्राउ परेका २६ जनालाई प्रशासनले मुद्दा चलाउने तयारी गरेपछि छलफलपछि बिना शर्त रिहाइ गर्न लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *