छोरा लडेपछि बचाउन खोज्दा आठ महिनाकी गर्भवतीले ज्यान गुमाइन्, दुई वर्षका साजन पनि बिते

काठमाडौँ । धादिङको भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । घाँस काट्न गएकी आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार घाँस काट्न जाँदा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेकी थिइन् । भिरबाट छोरा लडेपछि बचाउने क्रममा आमा-छोराको मृत्यु भएको प्रहरीको भनाई छ ।

करिब दुई सय मिटर तल खसेका साजनको घटनास्थलमै मृत्यु भएको थियो भने अप्सरालाई गोठालाहरूले देखेपछि उद्धार गरिएको थियो । तर, मलेखुस्थित टिचिङ अस्पताल ल्याउने क्रममा बाटोमै उनको पनि मृत्यु भएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

अप्सराको पेटमा भएको शिशुको पनि ज्यान गइसकेको र शवको पोस्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *