ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदको संयुक्त बैठकमा काठमाडौँको गोठाटारमा ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताएका हुन् ।
त्यसैगरी बजेटमा हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला–सहाना पुनर्स्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । बालश्रम शोषण अन्त्य गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । ८ वटा बाल सुधारगृहको मर्मत, संहारका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
अर्थमन्त्री महतले भने, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालिन हवाई उद्धार गरिनेछ । यस कार्यक्रम अन्तरगत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार उद्यमशीलता विकासका लागि प्राविधिक सहयोगलगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु । लैगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिलाई प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श सेवालाई गुणस्तरीय बनाई हिंसा पीडित महिला पुनस्थापनाका गर्न भक्तपुरमा सूर्यविनायकमा मंगला–सहाना पुनर्स्थापना केन्द्र निर्माण गरिनेछ । सबै प्रकारका बालश्रम शोषण अन्त्य गरिनेछ । हाल सञ्चालनमा रहेका ८ वटा बाल सुधार गृहको मर्मत, संहार तथा संस्थागत क्षमता अभिवृद्धि गरिनेछ । तनहुँको ढकालटारमा बाल सुधार गृह निर्माण गरिनेछ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन ज्येष्ठ नागरिक मिलन केन्द्रमार्फत अन्तर पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँको गोठाटारमा १६५ क्षमताको वृद्ध आश्रम र ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु ।’
अर्थमन्त्री महतले ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *