रेशम चौधरी रिहा हुने भएपछि नेता कार्यकर्ता पुगे डिल्लीबजार

काठमाडौँ । आज पूर्वसांसद रेशमलाल चौधरी ६ वर्षपछि जेलमुक्त हुँदैछन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरे पछि उनी आज जेल मुक्त हुन लागेका हुन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ वर्ष देखी डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भएपछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागार परिसरमा आउन निर्देशन दिएको थियो । सोहीअनुरुप नेता तथा कार्यकर्ता बिहानै डिल्लीबजार पुगेका छन् ।
टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औँ दिनमा चौधरीलाई आममाफी दिइएको हो ।
२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन् ।
उता उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी कानुनतः २०९४ सालसम्म जेल सजायमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ वर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।
२०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ ।








