मलाई सरकारले गोली ठोक्छ, प्रर्दशनकारीले ढुंगा हान्छन् : स्वास्थ्यमन्त्री लिम्बु

विराटनगर । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालयमा भएको तोडफोडकोका कारण मन्त्रालय अस्तव्यस्त भएको बताएकी छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा लिम्बुले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकायको टार्गेटमा परेको जानकारी गराइन् ।

स्वास्थ्य मन्त्रालय दोहोरो मारमा परेको कारण रणभूमिको मैदान बनाइएको उनले बताइन् । प्रदेशको औषधी, खोप तथा स्वास्थ्यसँग सम्बन्धित गर्नुपर्ने स्वास्थ्य मन्त्रालयलाई सुरक्षा दिन नसकेको बारे प्रश्न उठाइन् । उनले आफू असुरक्षित रहेको समेत सदनलाई जानकारी गराइन् । पहिचान पक्षधर भएकै कारण सरकारले १ नम्बर टार्गेटमा आफूलाई राखेको समेत आरोप लगाइन् ।

‘मेरो सुरक्षा र मेरा परिवारको सुरक्षा कसले लिने,’ उनले भनिन्, म यो भूमिको भूमि पुत्र हैन ?’

सरकार पक्षबाट अश्रुग्याँस प्रहार भएको, प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइएको, प्रदर्शनकारीहरूले मन्त्रालय भित्र तोडफोड गरेको उनले बताइन् । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भएको उनले बताएकी छिन् ।

‘म बस्ने चेम्बरमा गोली हान्ने काम भएको छ, त्यसको न्याय कसले दिने उनले भनिन्, त्यहाँ भित्र म भएको भए मलाई गोली लाग्ने थियो ।’

उनले पार्टीको निर्णय अनुसार आफू सरकारमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयको आर्थिक वर्षको अन्त्यको लागि हलमा समीक्षा भएको कारणले मात्र आफू सुरक्षित हुन सफल भएको बताइन् ।

‘सरकारले गोली ठोक्ने मलाई, प्रदर्शनकारीबाट ढुङ्गा हान्ने मलाई अनि मैले के गर्ने,’ मन्त्री लिम्बुले भनिन्, ‘मलाई जवाफ चाहियो, देवकोटा चोकमा त्यति धेरै सुरक्षाकर्मीहरू हुँदा स्वास्थ्य मन्त्रालयमा ४ जना मात्र सुरक्षाकर्मी किन राखियो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *