कालीगण्डकी करिडोर सडक २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सकियाे

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ ।

सरकारले २०८१ सम्मको लक्ष्य राखे पनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट–राम्दीसम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ । आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तीव्रता पाएको बताए ।

उनले देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रूपमा भइरहेको पाएको भन्दै खुसी व्यक्त गरे । उनले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताए । उनले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभई त्रिदेशीय व्यापारिक मार्गका रूपमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्ने बताए । कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिने उनले बताए ।

उनले भने, ‘कालीगण्डकी नदी धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण नदी, यसको उद्गमस्थल दामोदर कुण्डबाट सुरु भएर विभिन्न घाट, धार्मिक स्थलहरू हुँदै त्रिवेणीधामसम्म जाने भएकाले यसलाई त्रिवेणीधाम हुँदै मुस्ताङ दामोदर कुण्डसम्म जानको लागि एउटा कालीगण्डकी धार्मिक पर्यटकीय राजमार्गको रूपमा अघि बढाउ भनेर प्रस्ताव गरेका थियौँ, यो सर्वसम्मतिले पास भएको थियो, सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएर काम थालेका थियौँ । निर्माणका काम राम्रोसँग पनि भएको छ । देशभरका निर्माणका काममा ढिलासुस्ती भइरहेका बेलामा व्यवहारमा पनि त्यो अपवाद रहेको बेलामा यो काम अलि राम्रोसँग भइरहेको छ । राम्रो प्रगति गरेको छ, केही ठाउँमा अझै अफ्ठ्यारा रहेका छन् । दुई पार्टबाट साइड अफिस राखेर जिम्मेवारी दिइएको छ । राम्दीदेखि रानीमलसम्म अलि काम हुन कमजोर रहेको रहेछ, त्यसलाई प्राथमिकता दिन जरुरी देखियो, केही ठाउँमा ठेकेदारले राम्रो काम नगरेको देखियो । यो धार्मिक मात्रै नभई त्रिदेशीय व्यापारिक मार्ग पनि हुनभयो । कोरलामा नाका खोल्दा र सुस्तामा नाका खोल्दा त्रिदेशीय मार्ग, धार्मिक, पर्यटकीय र व्यापारिक हिसाबले राम्रो छ, यसको लाभ देशले लिनुपर्छ । केही पार्टका कामहरूलाई गति दिन आवश्यक देखियो । अबको ढिलोमा तीन वर्षमा पूरा हुने देखियो ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रूपमा राम्रो भए पनि पुल निर्माणमा भने समस्या देखिएको बताए ।

उनले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिए । उनले विकास युवालाई रोजगारी सिर्जना गर्ने र धार्मिक संरचना नमास्ने गरी काम गर्न जरुरी रहेको बताए ।

उनले भने ‘पुलहरूको कुरा अहिलेको समस्याको रूपमा नै देखियो । हामीले यसमा धेरै महत्त्व दिन जरुरी छ । कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको छ । युवालाई रोजगारी र धार्मिक संरचना नमासिने गरी विकास हुनुपर्छ ।’

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताए । उनले विकाससँगै करिडोर जोडिएका क्षेत्रहरूमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘यो महत्वपूर्ण गौरवको योजना हो । हाम्रो स्तरोन्नतिका लागि धेरै काम गर्छ । हामीले विकाससँगै्र रोजगारी र उत्पादनका क्षेत्रमा काम गर्नुपर्छ ।’

त्यस्तै गैँडाकोट–राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा नै महत्वपूर्ण हुने बताए । उनले अहिले काम भइरहेको केही ठाउँमा काम ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यक्ता देखिएको बताए । उनका अनुसार प्राकृतिक विपद् लगायतका केही कारणले कतिपय ठाउँमा सडक निर्माणको ठेक्का दिई नसकिएको उल्लेख छ ।

उनले सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । गैँडाकोट–राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेपनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशतमात्रै काम सम्पन्न भएको र बाँकी समयमा यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने बताए ।

उनले ठेक्कापट्टलाई आधार मान्दा गैँडाकोट–राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हासिल भएको उल्लेख गरे ।

उनले भने ‘धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक महत्वपूर्ण छ । गैँडाकोटदेखि जोमसोम कोरलासम्म छ । अहिले निर्माण कार्य भइरहेको छ । राम्दी रानीमलसम्म नयाँ ठेक्काको आवश्यक्ता छ । केही पुलहरू बनाउन आवश्यक रहेको छ । हामीले ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य यस आर्थिक वर्षमा राखेकोमा हालसम्म ५० किलोमिटर कालोपत्रे भएको छ । मौसमले साथ दिए ७० प्रतिशतसम्म कालोपत्रे सक्छौँ । अहिलेसम्म १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन गरिसकेका छौँ । ठेक्कापट्टलाई आधार मान्दा हामीले ६० प्रतिशत भौतिक प्रगति हासिल गरेका छौँ ।’

त्यस्तै पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्नेकुरा गम्भीर विषय भएको बताए । उनले राम्दीदेखि देवघाटसम्म पैदल मार्ग र साइक्लिङ रुट बनाउनसके यसको महत्त्व झनै बढ्ने बताए ।

उनले भने ‘कालीगण्डकी नदीलाई पथान्तरण गर्ने कुरा उठेको छ, यो गम्भीर विषय छ । राम्दीदेखि देवघाटसम्मको नदी धार्मिक र पर्यटकीय हिसाबले महत्त्व राखेको छ । यसमा सबैलाई गम्भीर तुल्याएको छ । राम्दीदेखि देवघाटसम्म एउटा पैदल मार्ग गराउने र साइक्लिङ रुट बनाउनसके यो महत्वपूर्ण हुने सोचिराखेका छौँ । यसको महत्त्व बुझाउन सकिन्छ ।’

उनले कालीगण्डकी नदीको महत्त्व र नदीसँग जोडिने धार्मिक स्थलहरूको महत्वलाई जोडेर कालीगण्डकी करिडोर बनेको र यसलाई अझै प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ ।

गैँडाकोट–राम्दी–मालढुङ्गा ९दक्षिण० खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला ९उत्तर० खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *