रेशमलाई छाड्ने तयारीमा सरकार, आममाफीका लागि गर्यो राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माकाअनुसार सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ । सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो । सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकोमा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।








