गणतन्त्र दिवसमा ‘कर्मकाण्डी’मात्रै गर्नुहुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन् । उनले कानूनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरेपनि कानूनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरू बलात्कारको मुद्दामा परिरहेको बताइन् । उनले कानून लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखी बलात्कारको मुद्दामा पर्नेहरूको सङ्ख्या बढी रहेको बताइन् । पैतृक सम्पत्तिको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताउनु भयो । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने मन्त्री शर्माको भनाई छ ।

उनले भनिन्, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पुर्‍याउनै सकेका छैनौँ । संविधानमा, कानूनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानूनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरूसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानूनले चिन्छ । तर भटाभट युवाहरू बलात्कारको मुद्दामा परिरहेका छन् । जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् ? अन्जानमा गल्ती गर्ने कति होलान् ? ठूलो सङ्ख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ , पैतृक सम्पत्तिको समानताको कुरा गरेका छौँ, कयौँ ठाउँमा त्यो कुरा थाहा नै छैन । कतिपय कुरा थाहा भएपनि हाम्रो उस्तो जबरजस्त पितृसत्तात्मक समाज छ की माइती वा सम्पत्ति रोज भन्ने स्थितिमा पुर्‍याइएको छ । उनीहरूलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ ? गणतन्त्र दिवस मनाउनु र राजाको जन्मोत्सव दिवस मनाउनु एकै हो ? होइन । गणतन्त्रपछिको उपलब्धिहरूको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ ।’

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धिको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् । उनले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् । सञ्चारमाध्यमहरूमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिस्पर्धा हुनुपर्ने मन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *