प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिँदै (तस्बिरहरु)

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि शुक्रबार दिउसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको बैठक बेलुका अबेर सम्म पनि दलहरूबीच सहमति हुन नसकेपछि शनिबार ४ बजेको लागि सारिएको थियो ।

आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँने कार्यक्रम रहेको छ । गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाबारे प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिन लागेका हुन् ।

राष्ट्रिय सभाको बैठकमा जवाफ दिइसकेका प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिइसकेसँगै १५ गते सोमबार संघीय सरकारले वार्षिक बजेट सार्वजनिक गर्नेछ ।

गत जेठ ७ गतेदेखि नै सांसदहरूले सरकारको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राखिसकेका छन् । प्रतिपक्षले नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने तथा सत्तापक्षले नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको भनेर प्रशंसा गर्ने बाहेक धेरैजसोले खासै विचार नराखेको भए पनि केही विचार भने कडा आएका छन् ।


पुरानै ढर्राको निरन्तरतालाई बन्द गर्दै अबदेखि नीति तथा कार्यक्रम बढीमा पाँच पृष्ठमा समेटेर त्यसलाई नै आधार बनाएर वैशाख र जेठमा घनिभूत छलफल गरी त्यसबाट निस्केको निचोडबाट आर्थिक वर्षको बजेट बनाउन जोड दिइएको छ ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले क्यानाडा, बेलायत लगायतका देशमा यसको राम्रो अभ्यास रहेको भन्दै आफूहरूले पनि आगामी वर्षदेखि सोहीअनुसार गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुअघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *