जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सभापति लामिछाने भन्छन्, ‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यस कारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे ।

उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *