झलनाथको चेतावनी : नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ

पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए ।

उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्ण रूपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’

त्यस्तै, खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए ।

साथै, पूर्व प्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताए ।

उनले देशको सामाजिक संरचनामाथि कुनै पनि व्यवधानका कार्यहरू हुने गरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताए । फरक प्रसंगमा उहाँले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *