राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाएका हुन् ।

राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर गृह मन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

कार्यालयले यससँगै टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले दिएको निवेदनलाई समेत गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।

शुक्रबार नै चौधरीलाई आममाफी दिन लागिएको भन्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको थियो ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले राष्ट्रपति समक्ष निवेदन दिएकी थिइन् ।

सरकारले यही जेठ १५ गते आममाफी दिएर छाड्ने गरी आममाफीको प्रक्रिया अगाडी बढाएपछि पीडितले आपत्ति जनाएकी थिइन् ।

टिकापुर घटनामा ७ प्रहरीसहित एक नाबालकको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *