आज सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाबारे प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिन लागेका हुन् ।

राष्ट्रिय सभाको बैठकमा जवाफ दिइसकेका प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिइसकेसँगै १५ गते सोमबार संघीय सरकारले वार्षिक बजेट सार्वजनिक गर्नेछ ।

गत जेठ ७ गतेदेखि नै सांसदहरूले सरकारको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राखिसकेका छन् । प्रतिपक्षले नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने तथा सत्तापक्षले नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको भनेर प्रशंसा गर्ने बाहेक धेरैजसोले खासै विचार नराखेको भए पनि केही विचार भने कडा आएका छन् ।

पुरानै ढर्राको निरन्तरतालाई बन्द गर्दै अबदेखि नीति तथा कार्यक्रम बढीमा पाँच पृष्ठमा समेटेर त्यसलाई नै आधार बनाएर वैशाख र जेठमा घनिभूत छलफल गरी त्यसबाट निस्केको निचोडबाट आर्थिक वर्षको बजेट बनाउन जोड दिइएको छ ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले क्यानाडा, बेलायत लगायतका देशमा यसको राम्रो अभ्यास रहेको भन्दै आफूहरूले पनि आगामी वर्षदेखि सोहीअनुसार गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुअघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको संसद् बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *