राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (जात्रा कथा/तस्बिरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाइएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘भोटो कसको हो ?’ भनी देखाउने गरेका छन् । त्यत्ति मात्र नभएर यदि प्रमाण सहित आएमा भोटो उसैलाई दिनुपर्छ भन्ने मान्यता पनि रहिआएको छ ।

भोटो जात्राको कथा

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । उक्त दम्पती नागहरूका राजा कर्काेटक नागको जोडी थियो । एक पटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारी दुवै टौदह पुगे ।

वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नाग नागिनी ज्यादै खुसी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मत्स्येन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्‍याउँदा उपत्यकावासी र भूतप्रेतहरू पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै, झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठुलो झगडा भयो । राजा गुणकामदेव पनि मत्स्येन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठुलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए ।

वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चोर्‍यो’ भने । भूतले भोटो मकै बारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मत्स्येन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेटक नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मत्स्येन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ । म अरूभन्दा अग्लो पनि देखिनेछु’, कर्काेटक नागले भने ।

त्यस समय जावलाखेलमा मत्स्येन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर, वैद्यले हुलमा अरूभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मत्स्येन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर, साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ ।

यसरी, हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्राको चौथो दिन देशको सम्माननीय व्यक्तिको उपस्थितिमा भोटो देखाउने परम्परा आजसम्म चलिआएको छ। नेपालमा राजतन्त्र हुञ्जेल राजाको उपस्थितिमा र राजतन्त्र हटी गणतन्त्र कायम भएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइँदै आएको छ ।

तस्बिरहरु:

    

सबै तस्बिरहरु: मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *