ढाकाकुमारको आरोपपछि मुकुल ढकालको जवाफ– २ करोड ८४ लाख नै क्षतिपूर्ति मागेर मुद्दा हाल्छौं

ढाका कुमार श्रेष्ठलाई समानुपातिक सांसद बनाउँदा रकम लिएको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अस्वीकार गरेका छन्। श्रेष्ठलाई सांसद बनाउन २ करोड ८४ लाख माग गरेको समाचार सार्वजनिक भएपछि रास्वपाका महामन्त्री ढकालले फेसबुकमार्फत खण्डन गरेका हुन्।
उनले आफू र पार्टी उपसाभापति डिपी अर्यालले रकम लिएको भनि मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन खोजिएको दाबी गरेका छन्।
‘यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौं। यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दैछौं’, ढकालले लेखेका छन्, ‘आरोप लगाइएको २ करोड ८४ लाख बराबरनै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौं र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोग दिनेछौं।’
ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई पार्टीबाट र सांसदबाट हटाएको थियो।
रास्वपाको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठलाई सर्वोच्चले पनि संसदमा फर्किने बाटो बन्द गरिदिएपछि उनले केही मिडियासँग कुरा गर्दै यस्तो आरोप लगाएका थिए।
रास्वपाले उनको स्थानमा विन्दावासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ। निर्वाचन आयोगले कंशाकारलाई पत्र दिए पनि शपथ बाँकी छ। सर्वोच्चले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब उनको शपथको बाटो खुलेको छ।








