कान्स फिल्म फेस्टिभल २०२३ विशेष

कान्सजस्ता फिल्म फेस्टिभलमा पुग्न निर्देशकमात्र बलियो भएर हुँदैन : नविन सुब्बा

नविन सुब्बालाई फिल्म बनाउँछु भन्ने थिएन ।

उनी विद्यार्थी राजनीतिमा थिए । धरानमा अखिलको राजनीति गर्थे । उनीहरूको समूह थियो । तर अखिलको क्रियाकलापले राजनीति गरेर उँभो लागिन्छ भन्ने उनीहरूलाई लागेन । ताप्लेजुङको गाउँबाट सुरु भएको राजनीति धरान सहर झरिसक्दा पातलियो । समाजको नराम्रो हटाउँछु भन्ने आवाज आफ्नै सङ्गठन भित्र नराम्रो भेट्न थालेपछि हरायो । (सहर पसेपछि बिचार हराएको नेपालमा पहिलोपल्ट हैन । आफ्नो राजनीति हराएको कुरा धेरै त उनको स्मृतिबाट पनि हराउँदै गएको छ ।)

राजनीतिबाट मोहभंग भएपछि साथीहरू यताउता भए । कोही पत्रकारितामा गए । कोही साहित्यमा लागे । कसैले नाटक गरे । धरानमा अनाम नाट्य जमात भन्ने समूह थियो । उनी त्यसमै लागे । राजनीतिबाट उनको अभियान सांस्कृतिक र कलाको क्षेत्रमा आइपुग्यो । कला दायित्व बन्यो ।

त्यसपछि काठमाडौँ आए । ‘नेपाली आवाज’ पत्रिकामा काम गरे । फिल्म र संस्कृतिको बारेमा लेख्न थाले । नाटक पेन्टिङ आदिको नजिक पुग्न थाले । नेपाली सँगै विदेशी फिल्म हेर्न थाले । नेपाली फिल्म हेर्दा उनलाई के नपुगेको के नपुगेको जस्तो भइरहन्थ्यो । उनी त्यसको बारेमा लेख्थे । जवाफमा फिल्मकर्मीहरू भन्थे ‘तिमीहरूले समीक्षा गरेको जस्तो फिल्म बनाउन कहाँ सजिलो छ र ?’ (मैले यो आजको कुरा गरेको जस्तो लाग्यो होला है ? यो आजभन्दा तीस वर्ष पहिलाको समय हो ।)

उनले त्यो क्रममा केही फिल्महरूमा एसिस्ट गरे ।

२०४६ सालको आन्दोलन सफल भयो । कलाकर्मीको रूपमा उनीहरू पनि आन्दोलनमा थिए । प्रजातन्त्र स्थापित भयो । बहुलताको कुरा त्यस बेला देखि नै उठ्न थाल्यो । टेलिभिजनमा भाषाभाषीको सिनेमा बनाउन दिने भयो । नेपाल टेलिभिजनमा आउने ‘तरेबा’ नामको सिरियलको उनले लेखन र निर्देशन गरे । त्यसको कथा लिम्बुहरूको तानेर बिहे गर्ने प्रथामा थियो । त्यसले एउटा जोडीमा ल्याउने समस्या देखाइएको थियो । श्रीमतीले छोडेर जान्छे । बुढो लाहुर जान्छ । लाहुरबाट फर्किँदा बुढो आफ्नो पुरानो श्रीमतीको घरमा पुग्छ ।

त्यसलाई मान्छेले रुचाए । त्यसमार्फत नै नेपाली टेलिभिजनले पहिलोपल्ट नयाँ खाले गरगहना देख्यो । नयाँ लुगाफाटो देख्यो । त्यति मात्र नभएर त्यसैले नवीन को अर्को फिल्म बनाउने जग खन्यो । फिल्म बन्ने भयो शेर्पा समुदायमाथि ।

पत्रकार भएको कारणले उनलाई क्लाइमिङ, माउन्टेनियरिङ जस्ता विषयमा थाहा भइरहन्थ्यो । उनको नेटवर्क त्यता पनि थियो । एक दिन क्लाइम्बर भन्ने पत्रिकाको एउटा सम्पादकीयमा १०० जनामा ९ जना हिमाल चढ्दा मर्ने अनि ९ जनामा ६ जना चाहिँ शेर्पाहरू हुने कुरा लेखिएको उनले पढे । (यो पनि आजको खबर जस्तो लाग्यो? ३० वर्ष पुरानै कुरा हो ।)

७७ मिनेट लामो ‘खांग्री’ बन्यो । उबेलाको दर्शकले हलमा हेर्न खोज्ने खालको फिल्म त्यो थिएन । यसो विभिन्न ठाउँमा प्रस्तुति दिने कुरा हुँदै थियो । त्यस क्रममा निर्मातामध्येका एक जना कर्माले एक दिन उनलाई एउटा कागज थमाए । त्यो इटालीको फेस्टिभलको ब्रोसर रहेछ । उनीहरूले फिल्म त्यहाँ पठाए । उनी त्यस बेला देशान्तरमा काम गर्थे । 

‘तपाईँलाई इटालीको राजदूतले खोजिराछ ।’

देशान्तरको रिसेप्सनिस्टले एक दिन उनलाई भनिन् । उनले फोन लगाउन भने । राजदूतावासबाट निम्तो आयो ।

‘तपाईँ फेस्टिभलमा छनौट हुनुभएको छ । जाने तयारी गर्नुपर्‍यो ।’ राजदूतले भेटमा भने । 

पासपोर्ट थिएन । पैसा पनि थिएन । राजदूतले भिसा फ्री गरिदिए । यताउता गरेर ट्रेन्टो फिल्म फेस्टिभल पुगे । उनलाई पहिलोपल्ट निर्देशक भएकोमा गर्व महसुस भयो । सँगै गएका निर्माताहरू भन्दा राम्रो होटलमा उनलाई राख्यो ।

तर उनीहरू लामो समय फेस्टिभलमा बसेनन् । आफ्नो स्कृनिङ सकेर रोम घुम्न गए । केही दिनमा फर्किँदा त उनीहरूको बारेमा हल्ला हुँदै रहेछ । भोलिपल्ट बिहान एक जना मान्छे उनलाई भेट्न आयो । उ टोरेनो अर्काइभको मान्छे रहेछ । उनको फिल्म अर्काइभमा राख्न चाहेको कुरा सुनायो । उनलाई अर्काइभको बारेमा धेरै कुरा थाहा थिएन । अझ अर्काइभमा राख्दा पैसा पाइन्छ भन्ने थाहा थिएन । 

‘यसलाई बेच्न पाए हुने’ उनको निर्माताहरूले यस्तो भनेपछि उनीहरूलाई त्यो मान्छेले कतै लिएर गयो । त्यहाँको डिस्ट्रिब्युसन कम्पनीको कोही मान्छेसँग परिचय गरायो । त्यतिबेला भिडियोहरूको एक्जिबिसन चलिरहेको थियो । 

‘यिनीहरूको फिल्म तिमीले किन्दा राम्रो हुन्छ ।’

‘मैले हेरेकै त छैन ।’ 

उनीहरू इटालीमा कुरा गरिरहेका थिए । उनी अनुमानले बुझ्दै थिए । 

‘किने हुन्छ फिल्म राम्रो छ ।’ छेउमा उभिएको अर्को एक जना मान्छे उनीहरूको गफ सुन्दैरहेछन् । ती मान्छे फिल्म क्रिटिक रहेछन् । उनीहरूलाई एक छिन घुम्दै गर्न लगाएर त्यो मान्छे गयो । घुमेर आउँदा कफी खान बोलायो र फिल्म किन्यो । 

अवार्ड कार्यक्रम भयो । फिल्मले जुरीको स्पेसल मेन्सन जित्यो । 

त्यो यात्राले उनलाई सिरियस भएर काम गर्‍यो भने धेरैतिर बाटो बन्ने रहेछ भन्ने थाहा दियो । आफूले घरमा सोचेको भन्दा धेरै घरबाहिर गएपछि हुँदोरहेछ भन्ने थाहा भयो । नेपाली सिनेमाहरूको डोमेस्टिक मार्केट मात्र हैन इन्टरनेसनल मार्केट पनि हुँदोरहेछ भन्ने थाहा भयो । हाम्रोजस्तो कथाहरूपनि सुनिँदो र हेरिँदो रहेछ भन्ने थाहा भयो ।

सँगै फेस्टिभलहरूको बारेमा पनि धेरै जाने । पहिलो टियर्स, दोस्रो टियर्स हुँदोरहेछन् भन्ने बुझे । वर्ल्ड प्रिमियर माग्दो रहेछ भन्ने जाने । त्यही ऊर्जा र उत्साहले उनलाई ‘नुमाफुङ’ बनाउने बनायो । अगिल्लो यात्राले कोरेको बाटोभन्दा अगाडी जान नुमाफुङलाई सजिलो भयो । त्यसले अझै धेरै संयोगहरू भेट्दै गयो । फेस्टिभलहरूमा यात्रा गरेकै कारण त्यसले पहिलो अन्तर्राष्ट्रिय वितरकको रूपमा स्विजरल्याण्डको वितरक पनि पायो । 

‘खांग्री’ बाट उनले गरेको त्यो यात्रापछि धेरै नेपाली फिल्महरूले विदेश यात्रा गरेका छन् । संसारका सयौँ फेस्टिभलहरूमा पुगेका छन् । ६ असोज २०७२ मा नेपाल म्यागेजिनमा प्रकाशित ‘नेपाली फिल्मको फराकिलो मैदान’ शीर्षकको लेखमा मेरो दिवङ्गत साथी गोकर्ण गौतमले त्यो बेलासम्म नेपाली फिल्महरूले विदेशी बजारमा पछ्याएका सफलताहरूलाई समेटेका थिए । त्यस बेला ५० वर्षे इतिहासमा पहिलो पटक कुनै नेपाली सिनेमाले संसारै प्रतिष्ठित फिल्म फेस्टिभलमा अवार्ड चुमेको दिनको प्रसङ्गबाट लेख थालेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने फिल्म ‘कालो पोथी’ थियो । मीन भाम निर्देशित त्यस फिल्मले इटालीको भेनिस फिल्म महोत्सवमा इन्टरनेसनल क्रिटिक्स विक अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड चुमेको थियो । विभिन्न मुलुकका नौ फिल्मलाई पछि पार्दै कालो पोथीले इतिहास रचेको थियो ।

पुरा लेख: https://nepalmag.com.np/art/2015/09/23/20150923083005 

त्यो इतिहासलाई टेकेर गएको वर्ष अभिनाश विक्रम शाहको ‘लोरी’ ले कान्समा स्पेसल मेन्सन अवार्ड जितेको छ । यो नेपाली सिनेमाले अन्तर्राष्ट्रिय तहमा जितेको सबैभन्दा ठुलो पुरस्कार हो । 

यति बेला कान्स फिल्म फेस्टिभल चलिरहेको छ । विश्वका चर्चित फिल्ममेकरहरू त्यहाँ पुगेका छन् । तर अझै पनि नेपाली तथा विशेष गरी दक्षिण एसियालीलाई भने त्यो रेड कार्पेट र फेसन सो जस्तो मात्र लागिरहेको छ । कान्सलाई फेसन सो जस्तो बनाएको भनेर भारतमा त अझ आलोचनाहरू पनि भइरहेको छ । यसै सन्दर्भमा मैले नविन सुब्बासँग कुरा गर्न चाहेको थिएँ । उनले आफ्नो फिल्म निर्माणको कथा सुनाइसकेपछि बल्ल त्यता जाने मौका मिल्यो । 

‘अहिले पनि जति तीव्र गतिमा नेपाली फिल्म विकास भइसक्नुपर्ने हो त्यति विकास भइसकेको छैन ।’ 

अगिल्लो वर्ष कान्समा नेपाली सर्ट फिल्मले पुरस्कार जितेको सन्दर्भ थाहा हुँदा हुँदै पनि उनले फिल्म फेस्टिभलहरूमा नेपालको उपस्थिति बलियो मान्न सकिरहेका छैनन् । उनको अनुसार बुसान जस्ता फेस्टिभलहरूको मुख्य प्रतिस्पर्धाहरूमा नेपाली फिल्महरू जानु थालेको छ । त्यसमा गएको पहिलो अफिसियल सेलेक्सन उनकै ‘गुडबाइ काठमाडौँ’ ले पाएको थियो । सहर आइनपुग्दै भत्किएको उनको राजनीतिको तुलनामा फिल्मको कथा भने तेस्रोपल्टमा मात्र सहरमा आइपुगेको थियो । 

त्यो फिल्म नेपालको घरेलु र विदेशी बजारबिचमा पुल खोज्ने प्रयास थियो । उनलाई आफ्नो आवाजको निर्माण गर्नु थियो । कथा भन्ने शैली आफ्नो हुन्छ । त्यो कथा भिज्युअलमा हामी कसरी भन्छौँ भन्ने खोज्नु थियो । देशको मौलिकतालाई समात्दै विदेशको फेरोमा पुग्ने उनको चाहना थियो । भलै त्यो अझै सन्तोष लाग्नेगरि पुरा भएको छैन । तर उनले देखिरहेको सपना त्यही हो । र उनलाई थाहा छ त्यो उनको फिल्मले मात्र पुरा गर्दैन । किनकि उनको आफ्नै फिल्म पनि समस्यारहित छैनन् । 

‘एकातिर अन्तर्राष्ट्रिय प्रभाव बलियो भएका फिल्महरू पनि बनिरहेका छन् । फेस्टिभलले नै डिक्टेड गरेर बनाएका सिनेमा पनि बनिरहेका छन् । अनि अर्को चाहिँ फेस्टिभल सेस्टिबल मतलब छैन । फिल्म भनेको मार्केट हो भनेर लाग्नेहरू पनि लागिरहेका छन् ।’

कोरिया, जापान आदिले अन्तर्राष्ट्रिय फिल्म बजारमा आफ्नो प्रभाव बलियो बनाइरहेको सन्दर्भमा भारतीय फिल्मको फितलो उपस्थितिले पनि नेपालको फिल्मको विकासलाई प्रभाव पारेको उनको ठम्याइ छ । उनीहरूमा पनि हाम्रोमा जस्तै मौलिकता र सौन्दर्यमा समस्या छ । त्यसैले पनि त्यति ठुलो जनसङ्ख्या र विषय भएर पनि ती पछि छन् । 

‘हाम्रोमा चाहिँ ?’

हाम्रो सिनेमाको मुख्य दर्शक हिन्दी फिल्म हेरेर प्रशिक्षित भएको भएर तीनलाई यतापट्टी मोड्न गाह्रो छ । त्यसैले हाम्रो मेकिङ पनि उस्तै नै छ । दुःखको कुरा वर्ल्ड सिनेमामा भारतीय सिनेमाले आफ्नो बलियो स्थान बनाउन नसकेको प्रभाव नेपालमा पनि परेको छ । उनीहरूको सिनेमामा अतिरञ्जना छ, जीवनसँग नजिक छैन, चरित्रहरूमा श्रेष्ठतावाद हाबी छ, सिनेमाले उसको समाजलाई यथार्थवादी भएर प्रतिनिधित्व गर्दैन । त्यहाँको सिनेमाले शत्रु खडा गर्छ । समाजको खराबी नदेखाउने र राम्रो पाटो मात्र देखाउने भोक छ । फिल्मको जुन भाषा छ त्यो पनि कमजोर छ । त्यो भाषाले अरूलाई छुँदैन । 

‘फेस्टिभलले के खोज्छ ?

‘संसारभरका फेस्टिभलको पनि आफ्नै चरित्र छ । त्यहाँ पुग्ने हो भने त्यो चरित्र बुझेर सिनेमा निर्माण गर्नुपर्छ । कान्स जाने भनेर सबै सिनेमा जाँदैन । त्यहाँ जाने सिनेमा कस्तो हो भन्ने थाहा हुनुपर्छ । कान्सले ट्याबु सब्जेटमा बनेका फिल्म तथा प्रयोगवादी भाषामा बनेका फिल्म माग्छ । उनीहरू फिल्मको भाषाको एक्सपान्सन खोज्छन् । हाम्रो कल्पनाशीलतालाई हल्लाउने दृश्य खोज्छन् ।’

‘हामीले त्यस्ता फेस्टिभलहरू कत्तिको हेरेका छौँ ?’

‘भारतमा अहिले एउटा समाचार चर्चित छ । त्यसले कान्समा इन्डियनहरूको बोलवाला भन्ने समाचार लेखेको छ । उनीहरू खासमा कान्समा गएका नै हैनन् । हाम्रो पत्रिकाहरूमा पनि त्यस्तै फोटो र समाचार धेरै छन् । (अन्तर्वार्ता लिएको दिन बिहान भारतीय निर्देशक नन्दिता दासले फेसबुकमा कान्स फेसन सो भन्दा धेरै केही भएको बताएकी थिइन् ।) खासमा कान्सलाई स्पोन्सर गर्नेहरू कस्मेटिक वा फेसन ब्रान्डहरू हुन्छन् । तिनीहरूको लगानीकर्ता संसारभर छन् । उनीहरू त्यो व्यवसायलाई पनि मिसाउन खोजेका हुन् । तर त्यो भन्दा धेरै हो कान्स । संसारकै सबैभन्दा प्रतिष्ठित फर्स्ट टियर्स फेस्टिभल । हाम्रो सिनेमाहरू बर्लिन, भेनिस जस्ता फेस्टिभलको साइडलाइनमा भर्खरै जान थालेको छ । मुख्य प्रतिस्पर्धा त हामीबाट अझै टाढा छ । तर मलाई लाग्छ अबको पाँच वर्षमा हामी मुख्य प्रतिस्पर्धाहरूमा पुग्न थाल्छौँ होला ।’

‘त्यसको लागि के गर्नुपर्छ ?’

‘त्यसको लागि धेरै क्षेत्र र तहमा काम गर्नुपर्छ । फिल्ममेकरले मात्र काम गरेर पुगेन । फिल्म क्रिटिक्सहरू पनि त्यस्तै हुनुपर्छ । जस्तो कि फेस्टिभलमा फिल्म मात्र देखिँदैन । फिल्म त छँदै छ । गुणस्तरको नवीन फिल्म बनाउनुपर्ने र त्यसको आफ्नै आवाज हुनुपर्ने त पहिलो सर्त नै हो । तर त्यो सँगसँगै फेस्टिभल नेटवर्किङ पनि हो । त्यसको क्षमता चाहियो । त्यो नेटवर्कसम्म हाम्रो प्रभाव पुग्छ कि पुग्दैन भन्ने सोच्नुपर्छ । हाम्रो प्रभाव पुग्नलाई क्रिटिक्सहरूको पनि ठुलो भूमिका हुन्छ । हाम्रो क्रिकिक्सहरूले लेखेको आर्टिकल उनीहरूले पढ्छन् कि पढ्दैनन् । अथवा प्रोग्रामिङमा हाम्रा क्रिटिक्सहरू गएर काम गर्छन् कि गर्दैनन् । जस्तो अहिले कान्सको प्रोग्रामिङमा ताइवानको फिल्म क्रिटिक्सहरू छन् । कोरियाको छन् । साउथ एसियाको लागि फिल्म फेस्टिभलले क्रिटिक्स छानेको हुन्छ । त्यहाँसम्म हाम्रो फिल्म पुगेको छ कि छैन ? त्यस्तो वैचारिक प्रभाव छ कि छैन ? त्यो तहमा पनि काम हुनुपर्छ । तर हाम्रो सिनेमा हेरिदिने मान्छे कम छन् । बोलिदिने मान्छे कम छन् । हाम्रो सिनेमालाई लिएर इन्टरनेसनल जर्नलहरूमा लेखिदिने मान्छे कम छन् ।’

‘हामी कहाँकहाँ चुकिरहेका छौँ ?’

‘कान्सकै उदाहरण हेरौँ न । हाम्रो फिल्मको हेराइ मात्र हैन, हामीले चिन्ने सेलिब्रेटी पनि भारतमा नै धेरै छन् । हामीले पत्रिकामा उनीहरू कान्समा गएको मात्र लेखिरहेका छौँ । चाइनाबाट गएको लेखे हुन्थ्यो नि त । रोमानियाबाट गएको लेखे हुन्थ्यो । भेनेजुएलाबाट गएको लेखे हुन्थ्यो । त्यो त लेखेका छैनौँ नि त । हाम्रो पत्रकारहरूको खोजी जबसम्म बलिउडको गसिपमा रहन्छ, हाम्रो फिल्म पनि त्यहाँ नै रहन्छ । त्यो भन्दा टाढा पुगेर पत्रकारले पनि लेख्न सक्नुपर्‍यो । नेपाली सिनेमा किन छैन भनेर कमेन्ट गर्नुपर्‍यो । प्रश्न गर्नुपर्‍यो । त्यो प्रश्नले नेपाली क्रिटिक्स किन छैन त भन्ने प्रश्न पनि ल्याउँछ । मैले धेरै कम नेपाली क्रिटिक्सहरू मात्र फेस्टिभलहरूमा गएको देखिरहेको छु । त्यो पनि बढ्नुपर्छ । त्यसैले यसको विकास समग्र नै हुन्छ । प्रोड्युसरहरू उत्तिकै प्रभावशाली चाहिन्छ । जस्तो कि भुटानको फिल्म गएको वर्ष ओस्कारमा गयो । त्यो भुटानको कारण हैन ताइवानको कारण गएको हो किनकि त्यसको पछाडि काम गर्ने उताका थिए । त्यसैले अन्तर्राष्ट्रिय रूपमा पुग्नलाई निर्देशकमात्र बलियो भएर पुग्दैन । फिल्म बनाउनेमात्र हैन त्यो भन्दा बाहिर रहेकाहरूको पनि उत्तिकै ठुलो महत्त्व छ । देशमा भएको फिल्म फेस्टिभलको विदेशको ठुला फेस्टिभलसँग कत्तिको सम्पर्क छ भन्ने कुराले पनि अर्थ राख्छ । त्यसो हुँदा एक अर्काको लागि फिल्म सुझाउन पनि सजिलो हुन्छ । खासमा फेस्टिभलहरूले नयाँ आवाज खोजिरहेका हुन्छन् । हामीले आफूलाई त्यो हुँ भनेर त्यहाँ पुग्ने माध्यमहरूमा काम गर्नुपर्छ । सँगै दर्शक बढ्नुपर्ने त छँदै छ ।’

नेपालीले नेपालको फिल्म फेस्टिभल देखि कान्ससम्मलाई कसरी हेर्छन् ? 

‘सतही नै बुझेपछि वा कान्सलाई फेसन सो कै रूपमा बुझे पनि हामीले त्यहाँ जानुको ग्ल्यामर भने बुझेका छौँ । अनि यदाकदा आउने सफलतामा उत्सव पनि मनाएका छौँ । तर हामीले त्यो भन्दा टाढा गएर सोच्ने बेला भने भएको छ । केही फिल्ममेकरहरूले बुझेका छन् । त्यसको पोल्टिक्स पनि बुझेका छन् । त्यो अनुसार काम पनि गरिरहेका छन् । तर कसले ब्रेक गर्छ भन्ने पर्खाइ छ । कान्सको मुख्य प्रतिस्पर्धामा को पुग्छ भन्ने म पर्खिरहेको छु ।’

त्यसमा हाम्रो देशको कूटनैतिक पोजिसनले कत्तिको महत्त्व राख्छ ? कूटनैतिक तवरमा हुन सक्ने कला कुटनीतिको अवस्था कस्तो पाउनुभएको छ ?

सफ्ट पावर अत्यन्तै जरुरी छ । तर हामीले यसमा धेरै ध्यान दिएको देखिँदैन । खासमा दुखलाग्दो वा लाजमर्दो नै छ । बाहिर डुलिराख्दा बेलाबेला कुटनितिज्ञहरूसँग भेट भइरहेको हुन्छ । देशलाई प्रतिनिधित्व गरेर कुनै फिल्ममेकर पुग्दा त्यसको राजदूतावासलाई मतलब नै हुँदैन । अरू पर जानै पर्दैन । कोही भारतीय कलाकार आउँदा प्रत्येक पल्ट भारतीय दूतावासले पत्रकारहरूलाई बोलाइरहेको हुन्छ । हाम्रो त गएर हामीले पहल नै गर्न खोज्दा पनि राजदूतावास सुतिदिन्छ । हामीले मिलेर केही गर्नुपर्‍यो भने उद्घाटन गर्न आइदिनुपर्‍यो भनेर चाकडी गर्नुपर्छ । यस्तो अवस्था छ । बरु त्यहाँको लोकल गभर्मेन्टहरूले धेरै ध्यान दिन्छ । हाम्रो धेरै दिवसहरूको बारेमा कार्यक्रम हुन्छन् । त्यस बेला सिनेमा वा अन्य सांस्कृतिक आयामलाई जोड्न सकिन्छ । विदेशीहरूले भने कल्चरल पोलेसी र डिप्लोमेसी बुझेका छन् । 

फिल्म फेस्टिभलहरूमा हामी किन जानुपर्छ ?

नेपालबाट फिल्म गइराख्यो भने नेपालमा पनि राम्रो फिल्म बन्छ भन्ने कुरा स्थापित भइरहन सक्छ । यो लगातार चाहिन्छ । गएको वर्ष लोरी गयो । यो वर्ष अर्को केही गइरहनुपर्छ । उनीहरू हेरुन्, चित्तै बुझ्दैन होला, रिजेक्ट गरुन् । तर पठाउन चाहिँ छोड्नु हुँदैन । त्यसो गर्दाखेरि हामीलाई पनि काम गर्न प्रेरणा मिल्नुपर्छ । उनीहरूले कस्तो खोज्छन् त्यस्तै बनाउन खोज्नु पनि नराम्रो हैन । त्यसले हामीलाई एक तहमा त पुर्‍याउँछ । सँगै नेपाली क्रिटिक्सहरू पनि फेस्टिभलहरूमा जानुपर्छ । फिल्म कसरी हेर्ने भन्ने नलेज त्यसले पनि बढाउँछ । 

यसपालि ‘गाउँ आएको बाटो’ फिल्म बनाउँदा विदेशी र नेपाली दुबैसँग काम गर्नुभयो । यो क्रममा तपाईँलाई महसुस भएका सीमितताहरू के के हुन् ?

हामी समय लगाएर फिल्म बनाउँदैनौँ । ४५ दिनको सुटिङ सेड्युअल राखेर वान गो मा फिल्म बनाउँछौँ । कथा तीन वर्षको छ एउटा सिजन देखाएपछि त कहाँ हुन्छ त ? अर्को सीमितता हामीले आफ्नो आवाज बनाउने सोचिरहँदा यहाँकै जनशक्तिमा काम गर्न समस्या छ । हाम्रोमा राम्रो प्रोडक्सन डिजाइनर अझै पनि छैन । कति बहस क्यामेराको प्रविधिलाई लिएर मात्र भइरहेको छ । भएको प्रविधिमा अप्टिमम क्वालिटी निकाल्न समस्या छ । कतिलाई आफूले खिचिरहेको कुरा किन खिचिरहेको छु भन्ने थाहा छैन । मैले काम नगरेको पनि हुन सक्छ तर धेरै सिनेमाटोग्राफरसँग बसेर काम गरौँ न भन्दा फिल्ममा डुब्न पाइन्छ भन्ने भाइब नै म पाउँदिन । सम्पादनमा पनि उस्तै हुन्छ । मलाई चाहिँ फिल्मको पछाडि काम गर्नेमा पोइन्ट अफ भ्यु लिएर आउने मान्छे मन पर्छ । दिमाग हल्लाउनेगरि काम गर्ने मान्छेको कमी देख्छु । यसो कुरा गर्‍यो भने खाली पैसामा गएर कुरा टुङ्गिन्छ हाम्रोमा । पैसाले खिच्ने हैन, पैसाले सम्पादन गर्ने हैन, आइडियाहरू पैसाले ल्याउने हैन । 

त्यो पनि जरुरी त छ नि हैन ? 

जरुरी त छ । मैले भन्न खोजेको नलिई काम गर्नु भनेको हैन । तर आफ्नो स्किललाई त हन्ट गर्नुपर्‍यो नि त । त्यसलाई निर्माण गर्नुपर्‍यो नि त । पैसा त त्यसले ल्याइहाल्छ । त्यसको चाहिँ अझै अभाव देख्छु । केही छन् तर त्यो पागलपन अझै धेरै चाहिन्छ नेपाली चलचित्रलाई माथि उठाउन । त्यो पागलपनले ल्याउने आउटकम पनि प्रतिस्पर्धात्मक हुनुपर्‍यो । 

कलाकारको बारेमा केही भन्नुभएन । केही भन्नु छ ?

हाम्रो शरीर हाम्रो संस्कृति हो भनिन्छ । नेपाली कलाकारहरूले बुझ्न नचाहेको कुरा यो हो । एउटा ब्राह्मण मान्छे छ भने उसको शरीरको हरेक हाउभाउ, बोल्ने तरिका सबैले उसको संस्कृतिलाई प्रतिनिधित्व गर्छ । एउटा गुरुङ वा मगरको अर्कै होला । उनीहरूले लिएर आएको त्यो संस्कृति उनीहरूले निभाउन खोज्ने हरेक चरित्रमा पनि आइरहेको हुन्छ । अरू कुनै समुदाय वा संस्कृतिको पात्रमा काम गर्नुपर्दा उनीहरू त्यसमा धेरै सचेत भएको म पाउँदिन । उनीहरू एक्टिङको ग्लोबल कन्टेक्ससँग पनि खासै जानकार छैनन् । यहाँ जस्तो भइरहेको छ त्यस्तैमा चलिरहेका छन् । वा थाहा भएको कुराको पनि गहिराइमा पुगेका छैनन् । 

तपाईँ राजनीतिबाट मोहभंग भएर सिनेमामा आउनुभएको । फिल्मले पनि कुनै न कुनै राजनीति गरिरहेको हुन्छ । अहिले आफूलाई कहाँ पाउनुहुन्छ ?

हाम्रो बेलाबेला भेट हुन्छ । म अहिले पनि फिल्म बनाइरहेको छु । उनीहरू बेलाबेला सेन्सर गर्न आइपुगिरहेको हुन्छ । म जिस्काउँदै भन्छु ‘देश यस्तो भो कि, यो ३० वर्षमा तिमी राजनीति गर्नेहरू सेन्सर गर्ने भयौ । हामी फिल्म बनाउनेहरू चाहिँ ल हजुर हामीलाई थोरै भ्यालिडेसन देऊ न, यो सिन देशद्रोही छैन, हेरिदेऊ न भन्ने स्थितिमा छौँ ।’ तर हामीले जसरी सिनेमालाई अहिलेसम्म लिएर आयौँ अहिले चाहिँ सिनेमा बनाउनेसँगै सिनेमा क्षेत्रबारे एकाडेमिक काम पनि हुनुपर्ने रहेछ, बहस गर्नुपर्ने रहेछ, भन्ने थाहा भएको छ । हाम्रो पालामा कान्सको बारेमा कसैलाई थाहा थिएन । अहिले कम्तीमा थाहा भएको छ । चर्चा परिचर्चा भइरहेको छ । यो पनि एक उपलब्धि त हो । तर २०-३० वर्षमा हुनुपर्ने उपलब्धि यति मात्र भने हैन । वियोण्ड बोर्डर जानलाई हामीले आफ्नो क्षमतामा अझै धेरै विकास गर्न बाँकी छ । 

All photos: Ngawang Thig Chok, from the set of Gaun Aayeko Bato.

Twitter: @SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *