सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : जीवन परियार

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए । सोमवार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन् ।

आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो । उनले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।

सहमहामन्त्री परियारले भने ‘यो नीति तथा कार्यक्रमको बारे पूर्ववक्ता पूर्वप्रधानमन्त्रीहरु र माननीय सदस्यहरुले धेरै विचारहरु प्रस्तुत पनि गरिसक्नुभएको छ । मैले सुने–यो नीति तथा कार्यक्रम काम लाग्दैन । पुनर्लेखन गर्नुपर्याे भन्ने पनि सुने । सम्माननीय सभामुख महोदय, हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । हामीले सुनेका छौं । पूर्व अर्थमन्त्रीजीहरुले पेस गरेको बजेटहरु पनि हामीले देखेका छौं । तर आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन । म स्मरण गराउन चाहन्छु । र, कतिपय माननीयजीहरुले भनिसक्नुभयो–यो नीति तथा कार्यक्रम परम्परागत छ । स्वभाविक रुपमा हो । हाम्रो देश नेपालमा हामीले यो देशको विकास र समृद्धिका लागि, नेपाली जनताको सुख र शान्तिका जे जति योजना र कार्यक्रम ल्याउनुपर्छ । ती सबै नीति तथा कार्यक्रम सबै सरकारका पालामा यसलाई प्राथमिकतामा पर्छन् । र, यसलाई प्रतिशतमा भन्नुपर्दा पूर्व माननीयजीहरुले भन्नुभयो–८० प्रतिशत त पूरानै नीति तथा कार्यक्रम दोहोरिएर आएको छ । अब ८० प्रतिशत पुरानै आएको छ भने वर्तमान सरकारले २० प्रतिशत नयाँ कुरा ल्याएको छ । के फरक पर्याे ।’

सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =