सहकारीको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटनका मेयर सम्पर्कविहीन

पोखरा । सहकारी मार्फत करोडौँ रकम हिनामिना गरेको आरोप लागेका बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । आफूले प्रयोग गर्दै आएको मोबाइल अफ गरेर उनी सम्पर्कविहीन भएका हुन् । पालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरूसँग समेत सम्पर्क नरहेको बताइएको छ ।

जेठ ५ गते उपप्रमुख धनबहादुर कठायतलाई उनले कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए । त्यसपछि कसैको पनि सम्पर्कमा छैनन् । कठायतले केही दिनअघि काम विशेषले प्रहरी चौकीमा नेपालीलाई भेटेको बताएका छन् ।

बागलुङ र पोखरामा समेत कार्यक्षेत्र रहेको इमेज सहकारीले करोडौँ रकम बचतकर्तालाई फिर्ता गर्न सकेको छैन । यसको अध्यक्ष उनै मेयर नेपाली हुन् । वैशाख ९ गतेदेखि नै सहकारीले कारोबार बन्द गरेको सूचना निकालेको थियो । बचत रकम फिर्ता नपाएपछि पोखराका बचतकर्ताले शनिबार कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए ।

स्रोतका अनुसार नेपालीले आफूमाथि असुरक्षा बढेको भन्दै केही दिनअघि प्रहरीमा निवेदन दिएका थिए । उक्त निवेदनमा आफू केही दिन उपचारका लागि बाहिर जाने उल्लेख गरेका ढोरपाटन प्रहरी चौकीले जनाएको छ । तर बचतकर्ता कसैले पनि सहकारीबाट ठगिएको उजुरी भने नदिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *