तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न माग

काठमाडौँ । नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ ।

आइतबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो । संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरुपमा भित्रने तोरीको तेलका कारण स्वदेशी उद्योगहरु बन्द हुन थालेको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुवोध गुप्ताले सरकारले स्वदेशी उद्योगहरु बन्द हुन नदिनको लागि १३ प्रतिशतको कर खरोज गर्नुपर्ने बताए । उनले नेपालमा तोरीको तेल उत्पादन गर्दा १ प्रतिशत कच्चा पदार्थ र १३ प्रतिशत मूल्यअभिवृद्धि कर रहेको बताए । उनले भारतमा तोरीको तेल उत्पादन भएकाले सीमानाकाबाट अवैधरुपमा तोरीको तेल आइरहेको बताए ।

उनले सरकारले अवैधानिक रुपमा आयात भइरहेको तोरीको तेल सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले नेपालमा तेल उद्योगलाई बचाउनको लागि सरकारले चोरी पैठारी नियन्त्रण गर्ने र १३ प्रतिशत कर खारेज गर्न आवश्यक रहेको पनि बताए । उनले सरकारले संघका दुई वटा माग सम्बोधन नगरेसम्म भारतसँग प्रतिष्पर्धा गर्न नसक्ने बताए ।

संघले भारतमा कृषि उत्पादनमा मल, बीउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकोले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको बताएको छ ।

संघले अस्वस्थ प्रतिष्पर्धाको कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको बताएको छ । यस्तै, संघले बैंक ब्याज एकल अंक हुनुपर्ने, विद्युत अनुदान तथा अन्य सुविधा हुनुपर्ने र क्रेडिट एक्ट लागू हुनुपर्ने माग राखेको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गर्न आवश्यक रहेको संघको माग छ । नेपालमा स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी लगभग २५ वटा दाल उद्योगहरु सञ्चालनमा रहेको छ । संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकोले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने, रातो वासमती विदेश निकासी खुल्ला हुनुपर्ने समेत माग राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *