संसदमा उखु किसानका सदस्यादेखि नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउनेसम्मका कुरा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सार्वजनिक विद्यालयहरुमा पढाइ नहुने र सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचार नहुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘देशले गरिबी हटाउन तीन/चार वटा कुरा गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीकोको व्यवस्था गर्नुपर्ने हो । आज सार्वजनिक विद्यालयहरुमा पढाइ हुँदैन । गरिब जनताका छोराछोरीहरु पढ्न पाउँदैनन् । सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था हुँदैन । पर्साको ठाकुराम बहुमुखी क्याम्पस र नारायणी उपक्षेत्रिय अस्पतालको व्यवस्था सुधार गर्नका लागि सरकार के गरिरहेको छ म जान्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य अनिता देवीले सरकारले कित्ताकाट खुल्ला गरेको निर्णयलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले उखु किसानलाई उनीहरुको उत्पादनको मूल्य दिने सरकारको निर्णय आजसम्म कार्यान्वयन नभएको बताइन् । उनले निर्णय कार्यान्वयन गर्न नसक्नुको जवाफ माग गरिन् ।

उनले भनिन् ‘उखु किसानलाई उत्पादनको मुल्य दिने भनेर सरकारले पटक पटक निर्णय गर्छ, तर आजसम्म उखु किसानले उत्पादनको मुल्य पाएका छैनन् । उखु किसानहरु आन्दोलन गर्न बाध्य । यो देशमा सरकार बिचौलियाले चलाएको छन् कि जनताले ? सरकारले आफैँले लागू गरेको निर्णय किन कार्यान्वयन गर्न सक्दैन ? जवाफ पाउँ ।’

प्रतिनिधि सभा सदस्य अमर बहादुर रायमाझीले देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भइरहेको उल्लेख गर्दै आगामी शिक्षा ऐनमा उनीहरुको सेवा, सुविधा, दरबन्दी प्रष्ट रुपमा लेखिनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको बताए । उनले उखु किसानको भुक्तानीको मस्यालाई तत्काल समाधान गर्न सरकारसँग माग गरे ।

प्रतिनिधि सभा सदस्य अमृतलाल राजवंशीले सरकारले नागरिकता सम्बन्धी विधेयक विलम्व नगरी अगाडी बढाउनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र टिकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य असिम साहले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी र सम्पर्कबिहीन भनिएकी प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभामा उपस्थित भएको भन्दै उनलाई सोधपुछ गरियो, गरिएन भनेर प्रश्न गरे ।

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट बाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरे ।

उनले भने ‘प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले यात्री दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘यात्रीको दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानून थिएन दर्ता भएन । अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैँले जरिवाना तिर्नुपर्छ । सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? फेरि यो विषय उद्यमीसँग मात्र सम्बन्धित छैन । स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित छ । त्यसैले स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु । उपभोग बढाउछु भन्ने निति बोकेर हिँडेको सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीहरुलाई निरुत्साहित हुन नदेओस् । आफ्नै नीतिको लाज राखोस् । सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले पाँचखालमा वर्षाले धेरै बालिनालीको नोक्शान गरेको भन्दै बालि बीमा र गटबन्धको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सरकारले सहिदहरुको सूची प्रकाशन गरेको विषय उठाउँदै यानप्रसाद गौतमको नाम नपरेको भन्दै सहिद कि गद्दार हुन् भनेर प्रश्न गरे ।

प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिडेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘धर्म व्यक्तिको आस्थाको कुरा हो । केही दिन पहिले छिमेकका सत्ताधारी पार्टीका नजिकका संगठनहरुले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ । त्यसकारणले तपाईहरुले हिन्दु राज्यको पक्षमा वकालत गर्नुपर्याे । हामीले चाहिएको आवश्यक मद्दत गर्न पनि सक्छौँ भन्ने किसिमको कुरा आयो । त्यो जानकारी अमेरिकन राजदुतावासबाट हामीलाई जानकारी भयो । नेपालमा एकातिर हिन्दु धर्मको नारा लाएर राजनीति रोटी सेकाउने । अर्कोतिर इसाइ धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोज्याउने र बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीति दुनो सोज्याउने प्रवृत्ति नेपालमा देखापरेको छ । यो गम्भिर कुरा हो ।’

उनले देशमा धर्मलाई राजनीतिको दुनो सोज्याउने हतियार बनाइएको भन्दै यसतर्फ सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =