सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा मात्र हो : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ ।

एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन् ।

शनिबार संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे । सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट परे ।

ओली भन्छन्, ‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन । यसले कुनै डेष्टिनेशननै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन । कहाँ पुग्ने भन्ने कुरै छैन यसमा । यस वर्ष कहाँ पुग्ने ? यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु प¥यो नि । यस वर्ष यति गर्छौ भन्नुप¥यो नि । त्यस कारण योत के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो । यस्तो खालको भयो । अलिअलि केही कुराहरु पुरानबाट तानतुन गरिएका छन् । यसले नीतिगत रूपमा कुनै मार्ग निर्देश गर्दैन । स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो । यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहिन रहेको बताए । सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उनको दाबी थियो । नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताए ।

उनले भने, ‘सरकारको कमिटमेन्ट देखिँदैन देश बनाउने खालको । यो नीति, कार्यक्रम, नीति कार्यक्रम जस्तै छैन । जसले यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै कुरा छैन । यो त वार्षिक कार्य योजना हो । यो त २० वर्षे योजना हो कि । यो पञ्च वर्षिय योजना हो कि । २ वर्षको कार्यक्रम पनि राखिएको छ । प्रधानमन्त्रीजीको कार्यकाल २ वर्ष गठबन्धनले तोकेको हुनाले २ वर्षे कार्यक्रम राखिएको हो कि ? त्यस कारण यो धेरै अस्पष्ट, अन्यौलग्रस्त, दिशाहीन छ । यसले राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या पहिचान नै गर्न नसकेपछि कसरी समाधान गर्छ ? अर्थतन्त्रको स्थिति राम्रो छ, उत्साहजनक छ भन्ने छ । यसले समस्याहरू छन् भनेर त देखेकै छैन ।’

ओलीले मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाए । उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *