गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ : प्रचण्ड (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन् ।

शनिवार काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरू सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको बताए । दाहालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताए ।

प्रधानमन्त्री भन्छन् , ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् की भनेर शंका गर्ने गरिएको छ, म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ । साथै देशमा एक थरी मानिसहरू नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ । त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउन सक्छ भनेर बसेका हौँ ।’

प्रधानमन्त्री दाहालले पुँजी बजार सम्बन्धीका सेटिङहरु भत्काएको बताए । उनले सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताए ।

उनले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताए । उनी भन्छन्, ‘पुँजी बजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरुलाई हामीले भत्काएका छौँ । राजश्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ । रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *