कोशी प्रदेशका सांसदलाई बाँड्न १ करोड ५० लाखको ल्यापटप खरिद गरिँदै

कांग्रेस सांसदले ल्यापटप नलिने

विराटनगर । कोशी प्रदेश सभा सचिवालयले कोसी प्रदेश सभा सदस्यहरूलाई ल्यापटप उपलब्ध गराउने तयारी थालेसँगै यो विषय विवादमा परेको छ। दुहिदिन अघि एक सूचना जारी गरी खरिद प्रक्रिया अघि बढाएपछि यो विषय बाहिर आएको हो । १०० थान ल्यापटप खरिदको लागि बोलपत्र आव्हान गरिएको छ। जेठ ३१ गतेसम्म सिलबन्दीको समय तोकिएकोमा सोही दिन सिलबन्दी खोलिने भनिएको छ ।

टेन्डर आव्हान गरिएपछि अहिले त्यसको टीकाटिप्पणी सुरु भएको छ। प्रदेश सभा सचिवालयले अनुत्पादक क्षेत्रमा रकम खर्च गर्न लागेको भन्दै प्रदेशसभा सदस्यहरूबाट नै विरोध भएको छ। प्रदेश सभा सदस्य गणेश उप्रेती ‘सुशील’ले युवालाई रोजगारी सिर्जना गर्न लगाउनु पर्ने रकम सांसदहरूलाई ल्यापटप खरिदमा खर्च गर्न नहुने बताए । कोसी प्रदेश सभाले १ करोड ५० लाखको ल्यापटप खरिदको प्रक्रिया सुरु गरेको हो ।

२०७९ चैत २८ गतेको प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार ल्यापटप खरिद प्रक्रिया अघि बढेको संसद् सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन सभामुखको संयोजकत्वमा रहेको समितिले गरेको निर्णय कार्यान्वयनमा सचिवालयले लगेको हो । समितिमा सभामुख सहित उपसभामुख, प्रदेश सभाका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्री रहेको समितिको सदस्यसचिव प्रदेश सभाका उपसचिव रहने व्यवस्था छ ।

त्यही अनुसार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत ल्यापटप खरिद गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बैठकमा सचिवालयका लेखा अधिकृत, कानुन अधिकृत र जिन्सी शाखाका कर्मचारी पनि सहभागी रहेको सचिवालय श्रोत बताउँछ । ल्यापटप खरिदमा अन्य शीर्षकबाट रकमान्तर गरेर १ करोड ५० लाख रुपैयाँ ल्यापटप खरिदमा स्वीकृत गरिएको सचिवालय श्रोत बताउँछ ।

‘समितिको बैठकमा मुख्यमन्त्री ज्युले पनि राम्रो ल्यापटप माननीय ज्युहरूलाई दिऊँ भन्ने प्रस्ताव गर्नुभयो, सचिवालय श्रोतले भन्यो, मुख्यमन्त्रीको प्रस्तावमा समितिले स्वीकृत गरेको हो।’

अहिलेको बोलपत्रको आधारमा जुनसुकै कम्पनी मार्फत तोकिएको मापदण्डको आधार एउटा कम्प्युटर बराबर अधिकतम १ लाख २० हजार बरावरको ल्यापटप १०० थान खरिद गर्ने तयारी संसद् सचिवालयको छ। प्रदेश सरकारको इलेजिस्लेशन र ई–गभर्नेन्सको अवधारणा अनुसार प्रदेश सांसदलाई प्रविधि मैत्री बनाउनका लागि ल्यापटप खरिद गर्ने निर्णय भए अनुसार खरिद प्रक्रिया अघि बढेको प्रदेश सभा सचिवालयका प्रवक्ता तथा उप–सचिव गौतमराज अमात्यले बताए ।

‘निर्णय अनुसार १०० वटा ल्यापटप माग गरिएको छ, उनले भने, दरभाउ बोलपत्र आव्हान गरिएको छ, त्यसको आधारमा हामीले खरिद प्रक्रियालाई पूर्णता दिन्छौँ ।’

यसैबिच नेपाली काँग्रेस संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेश सभाबाट खरिद प्रक्रिया अधि बढेको भनिएको ल्यापटप नलिने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *