भ्रष्टाचार ढाकछोप गर्न खोजे कांग्रेसकै भविष्य धरापमा पर्छ : शेखर कोइराला (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताउका छन् ।

बुधवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए । उनले कांग्रेस पार्टीको नेताहरु नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिनुले कांग्रेसको गरिमामा आँच आएको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए ।

उनले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताए । उनले देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताए ।

उनले भने ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, झनै नेपाली काँग्रेस पार्टीको परिस्थिति पनि गम्भीर छ । नेपाली काँग्रेसभित्र अहिले जुन घटनाहरु भइरहेको छ । हाम्रै साथीहरु नक्कली भूटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ । फसाइएको छ । त्यसले नेपाली काँग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नु हुँदैन, यसलाई हामीले ढाकछोप गर्ने कोशिस गरेमा नेपाली कांग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिन, अहिले अफ्ठ्यारो स्थितिमै पार्टी छ, देशकै अवस्था नाजुक हुन्छ, यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै यो मुद्दा चलिरहेको छैन, नेपाली प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ । यो मुद्दालाई कमजोर बनाउने चिन्ता हामी सबैलाई लागेको छ । देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ ।’

नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए । उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =