मुलुकमा आर्थिकसँगै खाद्यान्न संकटको जोखिम

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । तीमध्ये ५५ लाख जनता सेयरमा लगानी गर्दा नराम्ररी डुबेका छन् भने ९८ लाख जनता सहकारीमा बचत गर्दा डुबेका छन् । २५ लाख जनता गाडीमा लगानी गर्दा डुबिरहेका छन् । बाँकी रहेका घरजग्गालगायत अन्य व्यापार व्यवसायमा डुबेका छन् । पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाको ऋणमा छन् । यसरी सर्वसाधारण जनतालाई डुबाउने पनि सरकार नै हो ।
राजस्वको निम्ति सरकारले धमाधम सहकारी संघसंस्था दर्ता गर्न दियो । ३५ हजारभन्दा बढी सहकारी संघसंस्थामा ९८ लाख जनताले २० खर्ब रकम बालुवामा पानी हालेको बराबर भएको छ । अहिले बचतकर्ताहरू आफ्नो रकम माया मार्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी उनीहरूको रकम डुबेपछि अधिकांशको घरमा रुवाबासी चलेको छ भने कति सुकुम्वासी हुनुपर्ने अवस्थामा पुगेका छन् । बैंकले सय रुपैयाँ कित्तामा निकालेको सेयर दलालीले ३२ सयमा बेचे । तर, ३२ सयमा किनेको सेयर अहिले हजार रुपैयाँमा बिक्री हुन्न । दुई वर्षअघि आनाको ३५ लाखमा किनेको जग्गा अहिले दुई लाखमा बिक्री नभएको पनि सुनिन्छ ।
२५ लाखमा किनेको सवारी साधन ३ लाखमा बिक्दैन । काठमाडौँ उपत्यकालगायत मुलुकभर सटर, फल्याट, कोठा खाली छन् । जताततै टु-लेट लेखिएको पोस्टर देखिन्छ । दुई वर्षअघि तीन करोडमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर ५०/५५ लाखमा बिक्री नभएको पनि बजारमा सुनिन्छ । घरजग्गा, गाडी र सेयर दलालीको अहिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा भागाभाग चलेको छ भने बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सहकारीका सञ्चालकदेखि कर्मचारीसम्म भूमिगत भएका छन् ।
अहिले बजारमा एउटा नयाँ कुरा सुनिन आएको छ । सहकारीका सञ्चालक र कर्मचारीले टाप कसेपछि घरधनीहरूले वडाबाट कर्मचारी ल्याउँदै घर खाली गराइरहेका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि वा घरजग्गा, गाडी र सेयरमा मन्दी आएपछि अहिले बैंकमा पैसा निकाल्नेको लाम लागेको छ । बचतकर्ताले एउटा रकम निकाल्न एक लाखको चेक लिएर गएमा बैंकका कर्मचारी पाँच हजार मात्र लिएर जानुस् भन्दै फकाउँछन् । आमाको कोखबाट एउटा बच्चा जन्मिदा त्यो बच्चा पहिला दुई/तीन किलो हुन्छ भने पछि सय किलोसम्म पनि हुन सक्छ ।
तर, यहाँ त १० रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट बनेको गाडी लाखौँ लाख रुपैयाँ हालेर किन्छन्, पाँच हजार आनामा बिक्री नहुने जग्गा ८० लाखमा किन्छन् त सय रुपैयाँमा बिक्री नहुने सेयर ३२ सय हालेर किन्छन् । अनि यिनीहरू नडुबे को डुब्छ ? अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरू त भागिसकेका छन् । तर, अब बैंक भाग्नुपर्ने अवस्थामा पुगेको छ । बैंकका सञ्चालक तथा कर्मचारीले बचतकर्ताको रकम मोज गर्न समेत गरिसकेका छन् । त्यसैले, यिनीहरू पनि सहकारीका सञ्चालक जसरी नै भाग्नुपर्ने छ ।
बचतकर्ताले बैंकमा बचत गरेको रकम बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारीले सबै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन् । बैंकको ९८ प्रतिशत लगानी यिनै क्षेत्रमा छ । तर, अहिले यस क्षेत्रमा मन्दी आएको छ । यिनीहरूको कारोबार ठप्प भइसकेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा डुबिसकेका छन् । अहिले पनि उनीहरू झुटा आश्वासन देखाएर सर्वसाधारणसँग रकम लिइरहेका छन् । ऋणीले ऋणको साँवाकिस्ता नतिरेपछि बैंकले त्यस ऋणको धितो त लिलाम गर्याे ।
तर, लिलाम गरेको धितो पनि बैंकले बिक्री गर्न सकिरहेको छैन । बजारमा घरजग्गा, गाडी र सेयर किन्ने कोही छैनन्, तर बिक्री गर्ने यत्तिकै छन् । उता धितो बिक्री गर्दा ८० लाख आउँछ भने बैंकले साँवाब्याज गरेर लिनु छ, २ करोड । यस्तो अवस्थामा पुगिसक्दा पनि बैंकले सर्वसाधारण जनतालाई भ्रममा राखेको छ । नोक्सानमा जान थालेपछि बैंकले अहिले सेयर होल्डरलाई बोनस दिन छोडिसकेको छ । साथै, कर्मचारी समेत कटौती गर्दै आइरहेको पाइन्छ ।
बैंक तथा वित्तीय संस्थाको अवस्था दिनानुदिन नाजुक बन्दै जाँदा पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई केही चासो छैन । सहकारी विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि यसप्रति चासो दिएका छैनन् । सहकारीका बचतकर्ताको यत्रो रकम डुब्दा त विभागका महानिर्देशक नवराज घिमिरे र मन्त्री रन्जिता श्रेष्ठले केही चासो दिइनन् भने अब बैंकका बचतकर्तालाई डुबाउनबाट बचाउन गभर्नर अधिकारीले के नै गर्लान् ?
सहकारीका बचतकर्तामा सचेतना अभिवृद्धि नहुँदा उनीहरू डुबे त अब बैंकका बचतकर्ताहरू पनि डुब्ने छन् । बजारमा अहिले पनि घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ भन्ने आशामा छन्, बैंक तथा वित्तीय संस्था । तर, यो आशा पनि निराशा मै बदलिने छ । मुलुकमा गरिबी र बेरोजगारी बढ्दो छ । कामको खोजीमा मानिसहरू दिनरात भोकभोकै हिँडेका छन् भने पैसा नभएर उपचार गर्न वा लास निकाल्न सकेका छैनन् । यस्तो अवस्थामा पनि अझैपनि घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ भन्नु बेकार छ ।
बैंक टाट पल्टिनेबित्तिकै यहाँ करोडौँ बचतकर्ताको रुवाबासी चल्ने छ । अहिले नै राज्यको ढुकुटीमा राजस्व आउन कम भइसकेको छ तर अब झनै ठप्प हुनेछ । त्यसैले, लुटपाट, ठगीलगायत अपराधजन्य घटना अब मुलुकमा ह्वात्तै बढ्नेछ । अहिले नै खाद्यान्नको मूल्य बढेर छोइनसक्नु भएको छ । तर, अब भारतले त्यो पनि नपठाए नेपालमा भोकमरी सुरु हुने छ । घरधनीहरू धमाधम कोठा, फल्याट र सटर खाली भएको देख्दा आत्तिएका छन् । तर, अब के गर्नु ? किन कि इट्टा टोक्न मिल्दैन त सिमेन्ट र डण्डी चाट्न मिल्दैन ।
अहिले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भारतले आफ्नो हातमा लिएर नेपालमा राजतन्त्र फर्काउने कोसिस गरिरहेको छ । राजतन्त्र ब्यूताउन पनि पूर्वराजा ज्ञानेन्द्रले भारतको सहयोग खोजिरहेकै देखिन्छ । यसले अब भारत र नेपालबीचको कूटनीतिक र राजनीतिक सम्बन्धमा दरार उत्पन्न हुनेछ । यसरी नेपाल र भारतबीचको सम्बन्धमा चिसो आउनेबित्तिकै भारतले नाकाबन्दी सुरु गर्छ । भारतले नाकाबन्दी गरेपछि पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन थन्किछन् भने नेपालीहरू खान नपाएर छटपटाउनुपर्ने अवस्था आउनसक्छ । घरधनीहरूले एक आनादेखि चार आना जग्गामा पाँच तल्लेदेखि १८ तल्लेसम्म घर ठडाएका छन् । एक फल्याटमा आफू बसी अन्य सबै चर्को भाडामा लगाएका छन् तर, भारतले ग्याँस नपठाएपछि त्यो कोठामा बस्ने मानिसले त दाउरामा खाना पकाएर खान सक्दैनन् नि !
नेपालको ८५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाएर सिद्धिसकेको छ । त्यसैले, अब नेपाली जनताले कि त भारतसमक्ष आत्मसमर्पण गर्नुपर्छ होइन भने भोकभोकै मर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने मानिस मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कतैबाट पनि उनीहरू उँभो लाग्ने जस्तो देखिँदैन । यिनीमै लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अब कसरी कर्जा उठाउँछन् ? कसरी बचतकर्ताको रकम फिर्ता गर्छन् ? किनकि यस क्षेत्रमा लगानी गर्ने अधिकांश सहकारी अहिले डुबेर भागेका छन् ।
बैंकका बचतकर्ता अहिले पनि ब्याजको प्रलोभनमा आफूसँग भएको रकम धमाधम राखिरहेका छन् । तर, सहकारी कसरी डुब्यो र किन भाग्यो ? भनेर त हामी सबैलाई अवगत नै छ नि । अहिले बैंकको पनि लगानी सबै घरजग्गा, गाडी र सेयरमा छ भनेर अधिकांशले थाहापाइसकेका छन् । कतिपय बैंकका बचतकर्ताको अहिले पनि आँखा खुलेको छ । दुई वर्षअघि एक करोडमा किनेको घडेरी अहिले बैंकमा धितो राखेर पाँच लाख रुपैयाँ कर्जा माग्दा समेत बैंक दिँदैन । बैंक भन्छ, ‘कर्जा प्रवाह गर्न पैसा नै छैन ।’
बैंक तथा वित्तीय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिएका ऋणीहरूले वर्षाैँदेखि ऋणको साँवाब्याज बुझाएका छैनन् । अहिले पनि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीले बचतकर्तालाई भ्रममा पारेका छन् । विकसित मुलुकमा धमाधम बैंक टाट पल्टिरहेका छन् । अब हाम्रो मुलुकको बैंक पनि डुबिसकेका छन् । किन कि बैंकको सबै रकम ठुल्ठुल्ला सीमित व्यापारी तथा व्यक्तिले चलाएका छन् । तर, उनीहरूले तिरेका छन् ।
व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट ७ अर्ब रुपैयाँ ऋण लिएको सुनिन्छ । उनले एक वर्षदेखि ऋणको साँवाब्याज नै बुझाएका छैनन् । ८ करोड मूल्य बराबरको जग्गा धितो राखी बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी घुस खान दिई एक अर्ब ५ करोड रुपैयाँसम्म ऋण लिएको सुनिन्छ । बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी घुसिया हुन् भनेर सबै प्रष्ट छन् । दुई करोड मूल्य बराबरको घरजग्गा धितो राखेर एक करोड दिने त्यसमा पनि १५ लाख घुस खाने, २ प्रतिशत सेवाशुल्क दिने अनि १८ देखि ४८ प्रतिशत ब्याज लिने ।
तर, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो नै पचाइदिने । ठग, लुटका कारण आज मुलुकको अर्थतन्त्र त डामाडोल भयो नै खाद्यान्नको संकटसमेत निम्तिने खतरा छ ।








