कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने औँल्याएकी हुन् ।

शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘Nepal India Fronlier Diplomacy In Reference TO Kali River: Perspectives Of International Law’ को विमोचन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सदिऔदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धी सबै समस्याहरू हल गरेर अघि बढनैपर्ने तर्क गरिन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रूपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘दुई देशबीचको सीमाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन । हाम्रो देशको नक्सामा सांसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रूपमै नयाँ चेतनाको सञ्चार भएको छ । भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भईरहेको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरी एक पटक महत्वका साथ स्मरण गर्नु पर्दछ । हामीलाई थाहा छ–मुलुकहरू बीचको भौगोलिक सिमाना कतिपय अवस्थामा दुई पक्षीय कूटनीतिको विषय बन्ने गर्दछ । हामीले आज चर्चा गरिरहेको नेपाली भूगोल हामीसँगै सभ्यताले जोडिएको मित्र राष्ट्र भारतसँग समेत विभिन्न कारणले सम्बन्धित हुन पुग्यो । त्यस कारण दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नु पर्दछ । यस्तो कार्यका हाम्रा दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्त्वपूर्ण योगदान पु¥याउने मैले विश्वास लिएको छु । पानी जीवनको अस्तित्वको आधार हो ।’

पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सुदृढ र विश्वासिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराइन् । उनले नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढ्न सके नेपालले आर्थिक रूपमा ठूलो प्रगति गर्ने समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *