‘हल्कारा’ ले सम्झाएको त्यो चिठी

आठ कक्षाबाट म झ्याउँपोखरीको स्कुलमा पढ्न थालेँ ।

नयाँ स्कुल गएसँगै धेरै थोक नयाँ भयो । नयाँ साथीको सङ्गत । जाने र फर्किने नयाँ बाटो । र त्यसमा थपियो कक्षा खाली भयो कि दौडिएर लाहुरेको घर पुग्ने अनि चिठी हेर्ने काम । स्कुल नजिकै लाहुरेको भव्य घर थियो । त्यसको भुईँ तलामा हुलाक थियो । हामी टिफिन टाइममा त्यहाँ जान थाल्यौँ । कसको चिठी आएछ भनेर हेर्न थाल्यौँ ।

मैले कसैलाई पनि चिठी पठाएको थिइनँ । कतैबाट आएको चिठी पढेको थिइनँ । चिठीको नाममा जानेको भनेको जाँचमा सोधेको प्रश्नको उत्तर लेख्नु मात्र थियो । कुनै काल्पनिक दिदीलाई सम्बोधन गरेर यताको हालचाल सुनाउनु । वा कोही काल्पनिक काकाले लेखेको चिठीको जवाफी चिठी लेख्नु । त्यसको अन्तिममा खामको नमुना चित्र बनाउनु र पठाउने अनि पाउनेको नाम लेख्नु । साथीहरू भन्थे ‘खामको नमुना मात्र बनायो भने पनि आधा नम्बर आउँछ ।’

हुलाक दौडिन थालेपछि मैले पहिलोपल्ट कसैले साँच्चै पठाएको चिठी देखेँ । प्रश्नको उत्तरमा मैले बनाएजस्तै चिठी । कसैले कतै तिरबाट कसैको लागि लेखेर पठाएका । कसैको नजिकै आइपुगेका । पुग्न पुग्न लागेका तर नपुगेका ।

पाउनेको हातमा नपुगुन्जेल चिठीको यात्रा पुरा हुँदैन ।

पाउनेपट्टिको नाममा भएका कुनै नाम गाउँकै चिनेकाको पनि हुन्थ्यो । साथीहरू घर जाने बाटोमा पर्ने कसैको नाम भए लिएर गइदिन्थे । कतिलाई हुलाककै मान्छेले जाँदा छोडिदिनु भनेर थमाउँथे । लामो यात्रा गरेर हुलाकमा आइपुगेका चिठीको नयाँ यात्रा सुरु हुन्थ्यो ।

त्यहाँ एक वर्ष पढेर म नजिकैको जिल्ला सदरमुकाम खाँदबारीमा पढ्न गएँ । चिठीको अध्याय त्यतै सकियो । उता मैले हुलाक भेटिनँ । चिठी पनि हेरिनँ । बरु कम्प्युटर चलाउन सिकेँ । त्यसका केही वर्षपछि इमेल ठेगाना बनाएँ । फेसबुक बनाएँ ।

मैले कसैलाई पनि चिठी लेखिनँ । कसैबाट पनि चिठी पाइन ।

तर कसैलाई पठाउने वा कसैबाट पाउनेगरी नलेखे पनि चिठीको फर्मेटसँग भने निकट नै थिएँ । केही समय पहिलादेखि कसैको बिहेमा जानुपर्‍यो भने उपहारको सट्टा नेपाली कागजमा शुभकामना लेखेर खाममा हालेर दिने गरेको थिएँ । पल्पसा क्याफे उपन्यासलाई नाटकमा रूपान्तरण गर्दा त्यहाँका पात्रले एक अर्कालाई लेखेका चिठीलाई पुनः लेखेको थिएँ । पात्रले लेखेको चिठी सम्पादित नहोस् भनेर नाटकको ड्राफ्ट लेख्दै गर्दा चिठी भएको ठाउँ खाली नै छोडेको थिएँ । त्यसबाहेक उपन्यासहरूमा चिठी पढेको थिएँ ।

जे होस्, मैले यतिन्जेलमा चिठीलाई अलिक परबाट मात्र बुझेको थिएँ । चिठी कुनै मान्छेले अर्को कुनै मान्छेलाई पठाउँछ भन्ने थाहा थियो तर त्यसमा के के पठाउँछ उति सारो ख्याल गरेको थिइनँ । एउटा चिठी के भएर अर्कोसम्म पुग्छ । वा त्यो चिठी पढ्ने मान्छेले त्यसलाई कसरी खोल्छ? चिठीमा खुसीको खबर भए खोल्ने मान्छे कसरी खुसी हुन्छ । दुःखको भए कसरी दुःखी हुन्छ । मैले त्यस्तो केही सोचेको थिइनँ ।

यसपालि मुभी लभर्सका साथीहरूसँग पैसा तिरेर विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ फिल्मको प्रिमियर हेरेपछि मैले चिठीलाई फरक तरिकाले भेटेँ । यो फिल्मले मेरो चिठी प्रतिको बुझाइलाई नयाँ बनाइदियो । मैले परबाट बुझेको चिठीको धड्कन सुनाइदियो । फिल्मको पहिलो वाक्य थियो ‘यो केवल चिठी मात्र हैन कसैको हंस अडेको पाना हो ।’

यो फिल्मले मैले आजसम्म निर्जीव हो जसरी भेटेका सबै चिठीहरूमा हंस थपिदियो ।

फिल्म हेरिसकेर मैले सोचेँ ‘हामीले स्कुलमा हेरेका ती चिठीमध्ये कति चिठी विदेशमा बस्नेले आफ्नो घरमा पठाएका थिए होलान्? कतिले आफ्नो श्रीमतीलाई वर्षौँ भन्न नपाएका कुरा सुनाएका थिए होलान् । पत्रमित्रता गर्ने कतिले नजिकैको साथीलाई भन्न नसकेको कुरा कुनै परको मान्छेलाई ठुक्क भएर सुनाएका थिए होला ? ती मध्ये कतिले भन्न मन लागेकै कुरा लेख्न सके होलान् । तीनले लेखेको कुराबाट पढ्नेले भन्न मन लागेको कुरा बुझ्न सके कि सकेनन् होला ?

चिठीमा लेखेको कुरा बुझ्न नपाए पनि चिठी आयो मात्र भन्ने कुराले कसैलाई कति खुसी बनायो होला ?

स्कुलबाट घर जानेले लगिदिएका चिठी सकुशल पुर्‍याइदिए कि पुर्‍याइदिएनन् होला ?’

हल्काराले चिठीलाई मुख्य पात्र बनाएर चिठी पुर्‍याउन जाने युवक र चिठी पर्खिने युवतीको कथा भनिरहँदा नेपाली समाजका धेरै यथार्थ सतहमा तैरिए । मैले यसको मुख्य पात्र रामले गाउँमा चिठी पुर्‍याउन गइरहँदा त्यो चिठीलाई केवल चिठी हैन सिङ्गो मान्छे नै सोचेँ । ती मान्छे जो अक्षरको माध्यम भएर आफ्नो घर फर्किन खोज्दैछन् । तीनलाई घरसम्म पुर्‍याउने काम घर भुलेको मान्छेलाई घर पुर्‍याइदिनु जत्तिकै हो । ती चिठीमा केवल अक्षर छैनन् । त्यहाँ कसैले भन्न खोजेका ती कुरा छन् जसले सुन्नेको पर्खाइलाई फरक पार्न सक्छन् । जसले सुन्नेको जीवनको लय र गतिलाई लाई नै फेरिदिन सक्छन् । ठिक त्यसरी नै जसरी वर्षौँसम्म चिठी नलेखेको श्रीमानको चिठी आएपछि उसलाई पर्खिरहेकी मियाले शृङ्गार गर्दाको रफ्तार फेरियो । उनको अनुहारको भाव फेरियो । (उनले शृङ्गार गरेको दृश्य पछिल्लो समयमा धेरै नेपाली फिल्ममा देखिइरहेको हो । अनुप बरालको ‘दोख’ फिल्ममा पनि दिया मास्केको यस्तै एउटा उत्कृष्ट दृश्य थियो ।)

कुनै बेला वैदेशिक रोजगारीको लागि विदेशमा हुनेले नेपालमा पुग्ने गरी चिठी लेख्थे । आफ्नो खबर सुनाउँथे । उनीहरूलाई चिठी कहिले पुग्छ भन्ने थाहा हुँदैन थियो । त्यो पुग्छ कि पुग्दैन । त्यसले के के नियति भोग्छ । न पर्खिनेलाई थाहा हुन्थ्यो । न पठाउनेलाई । हरेक मान्छेसँग भएको एउटा सुनाउने खबर र अर्को सुन्ने पर्खाइ । त्यो चिठीले ती दुई जनालाई जोड्थ्यो कि जोड्दैन थियो पनि थाहा हुँदैन थियो ।

उ बेला चिठी पुग्छ कि पुग्दैन भन्ने पर्खाइ थियो । अहिले पनि मान्छे आइपुग्छ कि पुग्दैन भन्ने पर्खाइ छ । फिल्मले देखाउन खोजेको समयलाई अहिलेबाट हेर्दा यस्तो लाग्छ उ बेलाको समयले पठाएको कुनै चिठी अहिले पनि कतै बाटोमा नै हराइरहेको छ । त्यो चिठीमा सायद लेखिएको छ ‘प्रिय देश, मलाई वैदेशिक रोजगारी आउने रहर थिएन । मलाई उतै बस्न मन थियो । तर देशमा युद्ध चल्यो । म बस्न सक्ने ठाउँ रहेन । देशको अवस्था चाँडै ठिक भए म फर्किने थिएँ ।’ यस्तो लाग्छ त्यो चाहना कहिल्यै देश नफर्किनेगरी देश छोडेर गएको छ ।

फिल्ममा श्रीमान् विदेशमा छन् । महिला घरमा बसेर पर्खिरहेकी छन् ।

वैदेशिक रोजगारीमा अहिले पनि महिला कम जान्छन् । त्यसमा पनि महिला जाने रोजगारीलाई सुरक्षित बनाउन कसरत गर्नुको साटो सरकारले पटक पटक महिलालाई नै विदेश जान रोकेको छ । केही समय वैदेशिक रोजगार क्षेत्रमा काम गरेको अनुभवको आधारमा मलाई थाहा छ त्यस बेला कति धेरै महिलाहरू विदेशमा राम्रै काम हुँदा पनि बिदामा आएपछि फर्किन पाएनन् । उनीहरूले जान पाइन्छ कि भनेर पर्खिए पनि । तर पर्खाइ धेरैको पुरा भएन ।

भर्खरै दोहोर्‍याएर हेरेको हिन्दी फिल्म ‘मकबुल’ मा तब्बुले निभाएको एक महिला चरित्र छिन् । उनी आफ्नो श्रीमान् (तर उसले उनलाई श्रीमती मान्दैन) को छेउमा बसेर केही कुरा माग्छिन् । श्रीमान् भन्छन् ‘तिमी कति धेरै कुरा मागिरहन्छ्यौ?’ उनी भन्छिन् ‘आजसम्म एउटा पनि पुरा भएको छैन।’

हल्कारामा पनि मियाँ बिहे गरेको एक हप्तामै विदेश उडेको श्रीमानलाई पर्खिरहेकी छन् । उनकी जेठी सासू देवी नेपालमा कुनै व्यवसाय गर्न कसैले केही सहयोग गर्छ कि भनेर पर्खिरहेकी छन् । केही परिवार छन् जो छोरो फिर्ता आउँछ कि भनेर पर्खिरहेका छन् । यति बेला नेपालमा कतिले के के पर्खिरहेका होलान् ?

द्वद्धकालमा बेपत्ता पारिएकाहरू खगेन्द्र लामिछानेको ‘पानीफोटो’चलचित्रमा जस्तै द्वन्धकालमा हराएको छोरो पर्खिरहेका होलान् । ‘चिसो मान्छे’ फिल्ममा जस्तै कोही बाबु आफ्नो छोराको लास पर्खिरहेका होलान् । कोही विदेशबाट नेपाल आउने दिन पर्खिरहेका होलान् । कोही नेपालबाट विदेश जाने दिन पर्खिरहेका होलान् । कतिले न्याय पर्खिरहेका होलान् ।

कोही घर अगाडीको बाटो कहिले पिच हुन्छ र धुलो उड्न छोड्छ भनी पर्खिरहेका होलान् । कोही सरकारी अस्पतालमा कहिले पालो आउँछ भनेर पर्खिरहेका होलान् । पटक पटक माइतघरमा पुग्न बाध्य नागरिकहरू विधिको शासन पर्खिरहेका छन् ।

ती सबैको अनुहार हल्काराकी मियाँको जस्तै अधैर्य होला । सानो सानो आशामा पनि विश्वास गरिहाल्ने होला । पर्खिने सबैको अनुहार उस्तै हुन्छ कि खै ? पर्खिनेलाई पर्खिने कुराले भित्रभित्रै यति गलाइसकेको हुन्छ कि उसलाई आउने सानो कुराले नै खुशी बनाइदिन्छ कि खै ?

मैले मियाँजस्तै धेरै नेपाली महिला देखेको छु जसको श्रीमान् बिहे गरेको केही दिनमा नै विदेश उडेका छन् । केहीलाई त्यसपछि कोहीसँग बोलेको देख्दा पनि समाजले कुरा काटेको छ जसरी यो फिल्ममा उनकी जेठीसामु उनको कुरा काटिरहन्छिन् ।

मैले यो फिल्ममा मियाँ र राम नजिकिएजस्तै परिस्थितिमा नजिकिएका धेरै महिला पात्र भेटेको छु, जसको निकटतामा उ प्रतिको प्रेम त्यति नै छ जति उसले ल्याउने खबर प्रतिको आशा छ । उनीहरू दुई जना सँगै हुँदा दुई को मनमा चलेको ढुकढुकी दुवै चरित्र निभाउने कलाकारको आँखामा हेर्न मिल्छ । उनीहरूको हरेक सानो सहजता र असहजतालाई महसुस गर्न मिल्छ । अनि ती दुई को निकटतामा देवी पात्राले व्यक्त गर्ने ईर्ष्या पनि स्पष्ट गरी सुनिएको छ ।

मिया फर्किन लागेको हुलाकीलाई रोक्दै भन्छिन् ‘आँधीबेहरी आउला जस्तो छ तिमी नजाऊ भो ।’ सायद मनको आँधीलाई वाक्य बनाउन पाएको भए उनी आफ्नो श्रीमान् विदेश जाने बेला पनि यस्तै भनेर रोक्थिन् होला । फिल्मले मियाँ र रामको चरित्रबिचमा भएका सबै गतिविधिमार्फत दुवैले आफ्ना श्रीमान् र श्रीमतीसँग खोजेका अतृप्त चाहनाहरू देखाइदिन्छ ।

फिल्मको दृश्य भाषा शक्तिशाली छ । क्यामेराले दृश्यका धेरै भावलाई समातेको छ । एक हिसाबले भन्दा कथाको आफ्नै छुट्टै प्यारालल न्यारेटिभ क्यामेराले बनाएको छ । विशेष गरी फिल्ममा संवाद नभएको बेला यसको प्रभावकारिता देखिन्छ । मियाको चरित्रलाई सेन्ट्रल फ्रेममा राखेर उनीतिर क्यामेरा जाँदा यस्तो लाग्छ क्यामेराले एकैपल्ट उनको मनको द्विधा र बेचैनी सुनिरहेको छ र उ आफूले सुनेको कुरा भन्ने उनीतिर गइरहेको छ । फिल्ममा धेरै पटक उनी सेन्ट्रल अलाइनमेन्टमा छिन् । अर्थ स्पष्ट छ, उनी समाजबाट बिचमा पारिएकी छिन् । कसैलाई पर्खिनु कि जान दिनुको बिचमा छिन् । उनी मान्छेलाई सुन्नु र नसुन्नुको बिचमा छिन् । उनी हाँस्नु र नहाँस्नुको बिचमा छिन् । रामलाई प्रेम गर्नु कि नगर्नु को बिचमा छिन् ।

तर यी सब सुन्दर कुराको बिचमा पनि फिल्ममा बिझाउने धेरै कुरा छन् । कुन समयको कथा हो स्पष्ट नगर्दा त्यो समयका धेरै बिम्बहरू फिल्मले गुमाएको छ । लोकेसन त्यति बिकट देखिँदैन जति फिल्मले देखाउन खोजेको छ । संवाद धेरै ठाउँमा सुन्दर छन् । तर ती कुनै चरित्रमार्फत बोल्न खोज्दा उति धेरै स्वभाविकता आउँदैन ।

फिल्ममा धेरै काव्यिक दृश्य छन् जसले आफैँमा हजार शब्द बोल्छन् । तर ती शब्दलाई फिल्मको न्यारेटिभसँग बेलाबेला मतलब हुँदैन । ती कुनै सुन्दर कविता जसरी टुक्रामा उभिँदा सुन्दर लाग्छन् ।

केही मुख्य कलाकारबाहेकका बाँकी कलाकार धेरै ठाउँमा क्यामेरा कन्सियस छन् । अझ ‘ननएक्टर्सहरू’ त निक्कै ठाउँमा क्यामेरासँग डराएका जस्ता लाग्छन् ।

केही कन्टिन्युटि जर्क छन् जुन राम्रोसँग प्रोडक्सनमा ध्यान दिँदा मेट्न सकिन्थ्यो । फिल्म सुरुवातमा जति कसिलो गरी सम्पादित छ, त्यो पनि समय क्रममा खुकुलिँदै गएको छ ।

यो कमजोरी रहितको फिल्म पक्का पनि हैन ।

यो फिल्म हेर्नु कि नहेर्नु ? धेरैले मलाई इनबक्समा यस्तो प्रश्न सोधिराख्नुहुन्छ । त्यो कुरा मैले कसरी भन्न सक्नु ? मैले आफ्नो बारेमा मात्र भन्न सक्ने हो । फिल्म हेर्दा आफूलाई लागेको कुरा मात्र भन्न सक्ने हो । म धेरै फिल्म दोहोर्‍याएर हेर्छु । हरेकपल्ट हेर्दा नयाँ नयाँ कुरा पाउँछु । मैले यहाँ भनेकै कति कुरा अर्कोपल्ट हेर्दा नभन्न सक्छु ।

अहिले मैले हेरिरहेको नेपाली फिल्ममा दुई खाले फिल्म छन् । एउटा जसमा निर्देशकलाई आफूले गरिरहेको काम के हो राम्रोसँग थाहा छ । वा कम्तीमा गर्न खोजेको के हो भन्ने थाहा छ । अर्को जसलाई फिल्म कस्तो बनिरहेको छ भन्ने कुरा थाहा छैन । दुवैले आफ्नो आफ्नो तरिकाले काम गर्लान् तर आफूले गरिरहेको कुरा थाहा हुनेले लगाएको मेहनत पक्कै पनि दृश्यमा देखिन्छ । त्यो आलोकाँचो होला तर देखिन्छ । हल्कारा के गरिरहेको छु भन्ने थाहा पाएका निर्देशकले बनाएको फिल्म हो । यसमा त्यस्ता धेरै ठाउँ छन् जहाँको कुनै दृश्यलाई पकडेर पुरा फिल्म हेरेको जति आनन्द लिने ठाउँ छ ।

एउटा दृश्यमा विदेश गएर नफर्किएको छोरालाई खोज्न श्रीमान् श्रीमती सहर जाँदै गरेको दृश्यमा श्रीमान् अगाडी छन् र श्रीमती पछाडि । श्रीमती पटक पटक श्रीमानलाई भेट्न खोज्छिन् तर भेट्दिनन् । मलाई थाहा छैन निर्देशकले त्यसलाई कति परसम्म पुगेर खिचेका हुन् । तर मेरो लागि त्यसले महिलाहरूले नेपाली समाजमा पुरुषलाई पछ्याउन गरेको सङ्घर्ष भन्यो । किनकि मैले गाउँमा धेरै पटक श्रीमान् अगाडी अगाडी र श्रीमती पछाडि पछाडि हिँडेको देखेको छु ।

मेरो हेराइको अनुभवले भन्दा यो फिल्मले केही सुन्दर काम गरेको छ । नेपाली वैदेशिक रोजगार क्षेत्रले ल्याएको सामाजिक मूल्य (सोसियल कस्ट) लाई देखाएको छ जुन कमजोरीरहित नभए पनि इमानदार प्रयास भने हो । प्राविधिक पक्षमा विशेष गरी क्यामेराको काम उत्कृष्ट छन् । सिनेमा हेरिसकेपछिको छलफलमा सिनेमाटोग्राफर चिन्तन राजभण्डारी धेरै बोल्न चाहेनन् । ‘मेरो काम नै बोल्छ’ आशयमा उनले कुरा गरे । मलाई आशा छ सिनेमाको पर्दापछाडि काम गर्ने पनि आफूले गरेको कामबारे बोलुन् । उनीहरूको कामले बोले पनि बोलुन् । उनले भनुन् ‘मैले चिठी पानीमा भिज्दाको मास्टरपिस दृश्य यसरी खिचेँ । त्यसमा चिठी टिप्न गएको राम पात्रको चरित्रलाई यसरी छिराएँ कि उसको छाया पहिला आओस् । उसको छायाले त्यो चिठी टिपोस् र घामतिर फर्काएर पढ्न खोजोस् ।’ उनले भनुन् ‘मैले मियाको चरित्रलाई यसरी देखेँ । उनले हरेकपल्ट लुकेर रामको आँखातिर हेर्न खोज्दा उनको मनमा भएका अव्यक्त कुराहरू भनुन् ।’

मलाई कामले बोल्ने मान्छेहरूले त्यो कामको बारेमा बोलेको सुन्न मनपर्छ ।

@SurajWritesNP

हल्काराको ट्रेलर: https://www.youtube.com/watch?v=wf1hbVYcjHs&ab_channel=OSRDigital 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *