टिप्पणी

बालकृष्ण खाँणलाई किन लगाइएन हतकडी ?

नेपाली जनताले तिरेको करबाट सरकारी कर्मचारीले तलब खान्छन् । जनताले गरेको मतदानबाटै नेता चुनिएका आएका हुन्छ । तर, सरकारी कर्मचारीले जनता र नेतामा गर्ने व्यवहार धेरै फरक छ भन्ने अस्तिको घटनाबाट पुष्टि भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले हतकडी लगाएन । त्यही ठाउँमा सर्वसाधारण अभियुक्त भएको भए प्रहरीले समात्ने बित्तिकै हतकडी लगाउथ्यो ।

कानुन त सबैका लागि एउटै न हो । तर, नेता र सर्वसाधारणलाई गर्ने व्यवहार किन छुट्टाछुट्टै ? अभियुक्त पक्राउ परेपछि उसलाई मेडिकल चेकजाँच र अदालतमा म्याद थप गर्न लैजाँदा अनिवार्य हतकडी लगाउनुपर्छ । त्यहाँ पनि प्रहरीले खाँणलाई छुट दियो । जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा रहेका खाँणलाई बस्नका लागि डिएसपीको कोठामा खाट हालेर छुट्टै व्यवस्थापन गरिएको भन्ने छ । एउटै कोठामा सय जना थुनुवा राख्ने प्रहरीले खाँणलाई किन बेग्लै व्यवस्थापन ग-यो ?

जनताको करबाट तलब खाएका, लुगा लगाएका प्रहरीले जनता र नेतामाथि विभेद गर्न मिल्छ ? वास्तविक रूपमा भन्ने हो भने प्रहरी प्रशासन खाँणको अगाडि लम्पसार परेको छ । जनता र कानुनभन्दा ठूलो खाँण हुन् ? यो प्रश्नको जवाफ नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरले जनतालाई दिनुपर्छ । खाँण खोरमा बस्नुहुँदैन भनेर कानुनमा लेखेको छ ? कि प्रहरीले नेताहरूका लागि भनेर छुट्टै कानुन बनाएको छ ? कानुन कार्यान्वयन गर्ने ठाउँमा बसेका प्रहरीलाई जनताले कुन नजरबाट हेर्ने ?

कानुन कार्यान्वयनमा विभेद गर्न मिल्दैन तर प्रहरीले गरेको छ । त्यत्रो ठूलो प्रकरणमा मुछिएको व्यक्तिलाई प्रहरीले ‘ज्वाइँ सुविधा’ दिइरहेको छ । प्रहरीका कारण अहिले पनि कति निर्दोष व्यक्ति जेलमा छन् । बाटोमा हिँडिरहेकालाई समातेर प्रहरीले मुद्दा लगाएर फसाएको घटना धेरै छन् । प्रहरीले गर्दा उसले गर्दै नगरेको गल्तीको सजाय पाउनुपर्छ । धेरै वर्ष सजाय काटेपछि अदालतले ती निर्दोष व्यक्तिलाई सफाइ दिन्छ । तर, प्रहरीले उसको त्यत्रो वर्षको क्षतिपूर्ति त दिँदैन ।

निर्दोषलाई चाहिँ आफैँ कसुर लगाएर फसाउने अनि गल्ती गर्नेलाई प्रमाणसहित पक्राउ गर्दा पनि सुविधै सुविधा । प्रहरीको यातनाका कारण धेरैले ज्यान गुमाएका छन् । थुनाभित्र प्रहरीको यातनाले मरेको घटनाहरू वर्षेनिजसो बाहिर आइरहेको हुन्छ । तर, प्रमाण जुटेपछि पक्राउ परेका खाँणलाई प्रहरीले किन छुट्टै व्यवहार देखायो ? आइजिपी कुँवरले यसको जवाफ जनतालाई दिनुपर्छ । कि गृहमन्त्री भइसकेका व्यक्तिलाई हतकडी लगाउन मिल्दैन र अन्य थुनुवासँग राख्न मिल्दैन भनेर जवाफ दिनुप-यो ।

कि माथिबाट दबाब आएको छ भनेर हात उठाउनुपर्‍यो । कि अबदेखि सबैलाई खाँणको जस्तो व्यवहार गरिनुपर्‍यो । हरेक अभियुक्तलाई छुट्टाछुट्टै कोठाको व्यवस्थापन गर्नुप-यो । अदालतमा उभ्याउन लैजाँदा पनि हतकडी लगाउन पाइएन । होइन भने आइजिपी कुँवरले राजीनामा दिनुुप-यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलमै हतकडी लगाएको थियो । विदेशमा रहेको व्यक्ति त्यहीबाट भाग्न सक्थेँ । तर, उनी आत्मसमर्पण गर्छु भनेर नेपाल आए ।

प्रहरीले जहाजबाट झर्नेबित्तिकै हतकडी लगायो । उनी पनि त राष्ट्रिय खेलाडी थिए । तर, हतकडी लगाइयो । खाँण त अर्काको घरमा लुकेर बसेका थिए । उनले त प्रहरीसँग जान पनि नाइँनास्ती गरेका थिए । त्यस्तो व्यक्तिलाई चाहिँ कि हतकडी लगाइएन । प्रहरीहरि नेताको चाकडी गर्नका लागि जागिर खाएका हुन् भन्ने यहाँबाट स्पष्ट हुन्छ । नेताहरूकै अघिपछि घुम्ने भएकाले उनीहरूलाई कारबाही गर्न प्रहरीलाई डर लागेको हो ? कि प्रहरीले नेताले तिरेको करबाट मात्र तलब खाएको छ, त्यसैले उनीहरूलाई विशेष सुविधा दिइएको हो ?

जनताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्छन्- ‘नेतालाई हतकडी लगाउन मिल्दैन भन्ने कानुन सदनबाट बनेको छ ? छ भने भन्नुस् ।  कानुनमा छैन भने तपाईँहरू जनतासँग माफी माग्नुस् । नलगाउनेलाई कारबाही गरियोस् । यो त गम्भीर विषय हो । भोलि जनताले हामीलाई पनि छुट्टै व्यवस्थापन गर्नुपर्छ । हतकडी लगाउन नमिल्ने माग राख्छन् । त्यतिबेला सरकारले के गर्छ ? यसपछाडि पनि नेता समातिएलान्, गृहमन्त्री पक्राउ पर्लान् । अनि कानुन मिचेर उनीहरूलाई छुट्टै व्यवस्था गर्ने ?’

यो सामान्य कुरा होइन । भोलि तीन करोड जनताले यसको विरोध गर्छन् । सरकारले अझैपनि जनतालाई ‘अनपढ’ सोचेजस्तो छ । तर, जनता निकै शिक्षित र जान्नेबुझ्ने भइसकेका छन् । जनताले भोट दिएपछि नेता बन्ने हो । नेताभन्दा जनतामाथि छन् । तर, प्रहरीले यो देखेको छैन । प्रहरीलाई जनताको प्रश्न- ‘तपाईँहरूको नजरमा नेता ठूलो कि जनता ?’ प्रहरीहरि सर्वसाधारणलाई दिनुसम्म दुःख दिन्छन् । ‘अपराध’ गर्ने नेताको भने गुलामी गर्छन् ।

अनि देशमा कसरी भ्रष्ट्राचार कम हुन्छ ? पहिले त प्रहरी प्रशासन सुध्रिनु जरुरी छ । प्रहरीको सोचमा परिवर्तन आउन जरुरी देखिएको छ । नेताहरूको चाकडी गर्नका लागि यत्रो कर खर्च गरेर प्रहरी भर्ती गरिएको होइन । जनताबाट चुनिएर गएका सांसदले सदनमा यो कुरा उठाउनुपर्छ । खाँणलाई छुट्टै व्यवहार गर्नुको जवाफ जनतालाई चाहिन्छ, दिनुपर्छ । जनताको छोराछोरीलाई जहाँ समात्यो प्रहरीले त्यही हतकडी लगाउँछ । प्रहरीले खाँणको अगाडि आत्मसमर्पण ग-यो ।

मुलुकमा यत्रो सञ्चारमाध्यम छन् । नेपाल स्वतन्त्रतामूलक देश हो । जनताले बोल्न र लेख्न पाउने हक पाएका छन् । तैपनि प्रहरीले कानुनलाई नै चुनौती दिएर गल्ती गर्ने नेताको पक्षमा काम गर्छ भने पहिलेको अवस्था कस्तो थियो होला ? जनताले तलब खुवाउन सक्छन् तर प्रहरीको सरुवाबढुवा र फुली थपिदिन सक्दैन । हिजो गृहमन्त्री हुँदा खाँणले कतिको सरुवा बढुवा गरिदिएका होलान्, कतिको फुली थपिदिएका होलान् । त्यसैले प्रहरीहरि खाँणपट्टी ढल्किएको हुनसक्छ ।

प्रहरीले आफ्नो पोसाकमा फुली देख्यो तर कानुन देखेन । माओवादीका नेता कृष्णबहादुर महरामाथि यसअघि बलात्कार मुद्दा लाग्यो । उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ ग-यो । तर, उनी प्रहरीको गाडीमा चौकी गएनन् । आफ्नै निजी प्लेटको गाडीमा गए । अनुसन्धान अवधिभर प्रहरीको हिरासतमा बस्नुपर्ने भएपछि बिरामी भएको नौटंकी देखाए । अस्पतालमा २४ दिन बिताए । पछि उनी उक्त मुद्दामा सफाइ पाए । गोकुल बाँस्कोटालाई ७० करोडको घुस मागेको आरोप लाग्यो । अदालतबाट उनले सफाइ पाए । काभ्रेका जनताले उनलाई चुनाव जिताएर पठाए ।

नेताहरूलाई प्रहरीको गाडीमा चढ्न लाज लाग्छ । अरू थुनुवासँग बस्न र प्रहरीले दिएको खान नेताहरूलाई घिन लाग्छ । तर, उनीहरूलाई घुस खानचाहिँ लाज लाग्दैन ? गलत काम गर्नुअघि सोच्नुपर्दैन ? नेता भइसकेपछि गाली र सम्मान दुवै खेप्नुपर्छ । जुत्ता र फुल दुवैको माला लगाउन सिकेका मात्र नेता हुन्छन् । समातिँदैमा कोही दोषी हुँदैन । देशमा अदालत छ, दोषी हो कि होइन यसको फैसला अदालतले गर्छ । आफ्नै गाडीमा जानुपर्ने, अन्य थुनुवासँग बस्न नहुने । नेपालको कानुन नमान्ने यिनीहरू कुन देशको नागरिक हुन् ?

खाँण चाबहिलस्थित मैजुबहालबाट समातिए । उनी आफ्नै निजी गाडीमा प्रहरी चौकी आए । अन्य थुनुवासँग बस्नुपर्ने उनी घरज्वाइँ जसरी बसेका छन् । अनि जनताले यस्तालाई  नेता भन्छन् । खाँण प्रहरीकै गाडीमा आएको भए, अन्य थुनुवासँगै बसेको भए उनको जनताले हेर्ने नजर बेग्लै हुन्थ्यो । कानुन बनाउने यी नेताहरू नै हुन् । तर, उनीहरू नै कानुन टेर्दैनन् । एमालेबाट निलम्बित सचिव टोपबहादुर रायमाझी अहिले पनि फरार छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली उनलाई बचाउन हरसम्भव गरिरहेका छन् । यसको फल त ओलीले २०८४ सालको चुनावमा पाइहाल्छन् ।

टोपबहादुर भाग्नुपर्ने नै थिएन । गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ । छैन भने त अदालतले सफाइ दिइहाल्छ । कानुनले नै संरक्षण गर्दा देशमा भ्रष्ट्राचार बढ्यो । कानुन पनि सर्वसाधारणलाई मात्र लाग्दो रहेछ । आफ्ना नेता पक्राउ परे भने नेताहरू बचाउनतिर लागिहाल्छन् । अनि देशमा कसरी भ्रष्ट्राचार हट्छ । २०४६ सालअघि पनि यही हुन्थ्यो, पछि पनि यही भइरहेका छन् । सर्वसाधारण फसे, नेतालाई कसैले छुनसमेत सकेन । अहिले पनि ‘सानालाई ऐन र ठुलालाई चैन’ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *