कहाँ हराइन् मन्जु खाँण ? पती पक्राउ परेको तीनदिन हुँदा पनि भेट्न गइनन्

पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मन्जु खाँण भने सम्पर्कबिहिन भएकी छन्। प्रहरी चाबाहिलस्थित उनको निवासमा पुग्दा पनि मन्जु घरमा थिइनन्।
प्रहरीले बालकृष्ण र उनी गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको थियो। बुधबार बिहानै खाँण र केसी पक्राउ परेका थिए।
श्रीमान पक्राउ परेपछि पनि मन्जु भने सम्पर्कमा आएकी छैनन्। श्रीमानलाई भेट्न हिरासतमा पनि गएकी छैनन्। बालकृष्णलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
खाँणलाई छुट्टै कोठामा राखिएको छ। खाँणलाई यसअघि परिसरका डीएसपी बस्ने कोठामा खाटको व्यवस्था गरेर राखिएको छ।
अन्य थुनुवालाई एउटै कोठामा एकसय बढी राखिए पनि खाँणलाई भने हिरासतमा पनि विशेष व्यवस्था छ। उनले बिहान साढे ७ बजेदेखि नै आफन्तसँग भेटघाट गर्छन्।
बुधबार पक्राउ परेलगतै आफन्तको काठमाडौं परिसरमा लर्को लाग्ने गरेको छ। तर परिसरले उनका नजिकका नातेदार र खाँणले नै भेट्न चाहेका नेतासँग मात्रै भेटघाट गर्न दिने गरेको छ।
खाँणका दाजु भाउजु बिहान बेलुकी नै पुग्छन्। रुपन्देहीमा रहेका उनका भाइ पनि पक्राउ परेकी दिन परिसर पुगेका थिए। तर उनकी पत्नी मन्जु भने तीन दिनसम्म पनि खाँणलाई भेट्न गएकी छैनन्।
अहिले बालकृष्णले मोवाइल चलाउँन पाउँदैनन्। कुराकानी पनि हुन सकेको छैन।
मन्जु अहिले सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ। केही दिनदेखि मन्जुको मोबाइल स्वीच अफ छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा मन्जुको पनि नाम जोडिएको छ। तर बलियो प्रमाण नजुट्दा प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छैन।
बालकृष्णको मोवाइल परीक्षणका लागि पठाइएकाले ल्याबबाट रिपोर्ट आएपछि उनी पनि पक्राउ पर्ने सम्भावना भने छ। उनी सम्पर्कबिहिन हुँदा उनको पनि संलग्नता रहेको आशंकामा बल पुर्याएको छ।
सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनको मोबाइलको म्यासेजको आधारमा बालकृष्ण पक्राउ परेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। अझै अनुसन्धान चलिरहेकाले पक्राउ पर्नेको संख्या बढ्न सक्नेछ। पक्राउ पुर्जी जारी भइसकेका केही व्यक्ति भने फरार छन्।
पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि अनुसन्धानमा सहयोग गर्छु भन्दै भागेका छन्।
उनलाई पक्राउ गर्न देशभरका प्रहरीलाई सर्कुलर गरिएको छ। भारत भागेको आशंकापछि सीआईबीको टोली पनि परिचालन गरिएको छ।








