०४६ सालपछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पती छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेको हो ।
त्यस्तै अवैध सम्पती जफतको समेत माग गरिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणको इमान्दारितापूर्वक छानबिन गर्न पनि राप्रपाले माग गरेको छ । ज्ञापनपत्र बुझाएसँगै सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषी उम्किनुनहुने र निर्दोष फस्नु नहुने कुरा आफुहरुले राखेको बताए ।
त्यसैगरी विगतमा भएका ठूला–ठूला भ्रष्टाचार काण्डको फाइल खोल्नपनि माग गरिएको उनले जानकारी दिए ।
उनले भने ‘यो प्रकरण विगतका भ्रष्टाचार काण्डहरु जस्तो, विगतको अनियमितताहरुमा भएको छानबिन जस्तो, छानविन प्रक्रिया अगाडी बढ्ने र बिचमा हराउने, सेलाउने प्रकारको नहोस् । र त्यसमा निष्पक्षता, इमान्दारीतापूर्वक छानबिन होस् । कोही पनि निर्दोषहरु नपरुन् । दोषी कोहीपनि नउम्किउन् । कुनैपनि तहका मानिसहरुले उन्मुक्ति नपाउन् र विगतका ठूला ठूला भ्रष्टाचार काण्डका फाइलपनि अब खोलिनुपर्छ । २०४६ सालपछिका उच्च पदस्थ नेता, कर्मचारीहरुको सम्पती छानबिन गर्नुपर्छ । अवैध सम्पतीहरु जफत गरिनुपर्दछ भनेर हामीले ज्ञापनपत्रमार्फत सरकारलाई सचेत गरायौँ । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र सदन दुवैतर्फ उभिन्छ भनेर हामीले भनेका छौँ । यो दलको, त्यो दलको, यो पक्षको, उ पक्षको भन्ने होइन कुनैपनि भ्रष्टाचारी यसबाट उन्मुक्ति पाउने अवस्था सिर्जना हुनुहुँदैन । सबैलाई छानविनको दायराभित्र ल्याउनुपर्दछ । ज–जसको नामहरु अहिले देखिएको छ उनीहरुलाई कारबाहीको दायरामा ल्याएर सत्य, तथ्य सार्वजनिक गर्नुपर्छ । प्रधानमन्त्रीले म पछि हट्दिन । यो चुनौतीलाई अवसरको रुपमा लिएको छु भन्नुभएको छ ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि भएको उल्लेख गरेको जानकारी दिए । उनले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन काण्ड र क्यान्टनमेन्ट घोटाला काण्डको समेत छानबिनको माग गरिएको स्पष्ट पारे ।
उनले भने ‘राप्रपाको भुटानी शरणार्थीको केसमा मात्रै होइन । वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन काण्ड, क्यान्टनमेन्ट घोटाला काण्ड
लगायतका आजसम्म भएका नेपालका ठूला ठूला बिग स्क्यामहरुलाई प्रधानमन्त्रीले छानविन गरेर अगाडी बढाउनुपर्यो । त्यसमा प्रधानमन्त्रीलाई साथ र समर्थन छ हाम्रो भन्ने विषयवस्तुमा हामीले कुरा गर्यौँ । प्रधानमन्त्रीले विदेशी पनि लागेका छन् । यो मुद्दा नेपालीको मात्र भएन । यो मुद्दा अन्तर्राष्ट्रिय जगतको पनि भयो भन्नुभयो । प्रमको आशय बुझ्दा नेपालीहरुको भन्दापनि अमेरिकी कानूनले ज्यादा दबाब दिएर यो काम भयो भन्ने महशुस भएको छ ।’
उनले राप्रपाले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि ज्ञानपन पत्र बुझाएर प्रधानमन्त्रीलाई दबाब दिइएको बताए ।








