उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

काठमाडौँ । टीकापुरकी सुशीला श्रेष्ठले सामान किन्दा कहिल्यै मूल्य र म्याद हेर्ने गरेकि छैनन् । उनिसंग व्यापारीले भनेकै दरमा किन्ने र सामान किन्दा कहिलेकाही ठगिएको अनुभव छ ।
उनले व्यापारीलाई विश्वास गर्दा सडेको चामल खानु परेको छ । ‘सडेको चामल दुई पटक खानुपरेको छ, घर लगेर खोलेपछि फिर्ता गरिएन’ उनले भने ‘आफूलाई जानकारी नहुँदा ठगिने डर हुन्छ, हामी हेर्न जान्दैनौँ, व्यापारीले मनपरी गरे ठगिने जोखिम छ ।’
लेखपढ गर्न नजान्ने भीमबहादुर विश्वकर्माले पनि कहिल्यै मूल्य र म्यादबारे जानकारी पाएका छैनन् । व्यापारीकै मुख हेरेर उनले सामान किन्छन् । उनले अहिलेसम्म कहिल्यै बील समेत मागेका छैनन् । कोही उपभोक्ताले ख्याल नगरे पनि कोही उपभोक्ता सचेत छन् । टीकापुरकै लक्ष्मी बजगाईंले भने मूल्य हेरेर, सोधेर, सामानको गुणस्तर हेरेर किन्ने गरेका छन् ।
‘म जहिले पनि हेरेर, बुझेर मात्र सामान किन्छु, धेरै सामान किन्दा बील पनि माग्छु, पछि घर गएर पनि हेर्न मिलोस् भनेर’ उनले भने ‘खाने कुरामा लापरबाही गर्ने कुरा भएन ।’
स्थानीय महेन्द्र शाहीसमेत सामान किन्दा सचेत छन् । उनले पनि सामान किन्दा म्याद हेर्ने र सोधपुछ गर्ने गरेका छन् । उपभोक्ता अधिकार संरक्षणमा वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँछन् ।
उपभोक्ताको अधिकारका लागि सेवा प्रदायकसँगै उपभोक्तासमेत जागरुक बन्न आवश्यक भए पनि त्यसो भएको देखिँदैन । वस्तु तथा सेवा प्रदायक निकायको गैर जिम्मेवारपन र अनुचित व्यापारिक क्रियाकलाप भएमा उपभोक्ता ठगिने जोखिम रहन्छ ।
यहाँको खड्का पसलका सञ्चालक भरतबहादुर खड्का विगतलाई हेर्ने हो भने पछिल्लो समयका उपभोक्ता सचेत बन्दै गएका बताउछन् । ‘विगतको जस्तो छैन, उपभोक्ता निकै सचेत छन्, हरेक सामान सोधीखोजी गरेर किन्छन्’ उनले भने ‘बील लिन्छन् एक किलो चिनी किन्दा पनि बील माग्ने छन्, हामी पनि लापरवाही गर्दैनौँ, हामी पनि जिम्मेवार छौँ ।’
अर्का व्यापारी चपाईँ जनरल स्टोरका सञ्चालक उदयराम चपाईँ उपभोक्तामात्र नभइ आफुहरु स्वयम सचेत रहेको बताए । उनी जानेका उपभोक्ताले मूल्य र म्याद हेर्ने, नजानेकालाई आफूहरुले भनीदिने गरेको बताउछन् । ‘पढेलेखेकाहरुले सबै हेरेर किन्छन्, हेर्न नसक्नेलाई हामीले भनिदिने गरेका छौँ, म्याद यति बाँकी छ, यहाँ बनेको हो जस्ता कुरा भनिदिन्छौँ’ उनले भने ‘बच्चाका खानेकुरा छिटो बिग्रन्छन्, हामी धेरै राख्दैनौँ, किन्छौँ, सकिएपछि फेरि मगाउँछौँ, म्याद गुज्रन थालेमा अलग्गै राखेर फिर्ता पठाउँछौँ ।’
वस्तुको बिक्री गर्दा पहिलो जिम्मेवार बिक्रेता हुने भएकाले सामान बिक्री गर्दा सामानका बारेमा उपभोक्तालाई व्यापारीले जानकारी दिनुपर्ने हुन्छ । सामान किन्दा गुणस्तरीय नभएमा उपभोक्ताले फिर्ता गर्न पाउने अधिकार भएकाले उपभोक्ता पनि सचेत हुन आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले बताए ।
‘बिक्रेता, क्रेता सबै जिम्मेवार बन्नुपर्छ, आफूले खाने र प्रयोग गर्ने कुरामा उपभोक्ता अझ बढी सचेत बन्नुपर्छ’ उनले भने ‘व्यापारीलाई त अझ लापरवाही गर्ने मौका नै छैन, मानिसको स्वास्थ्यसँग जोडिएको कुरा भएकाले ज्ञान भएको मानिसले मात्र व्यवसाय गर्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिना बिक्रेता तथा सरकार जिम्मेवार बन्ने र उपभोक्ता सचेत हुनु आवश्यक रहेको बताउछन् । उनले व्यवसाय सञ्चालन गर्नेहरु जानकार हुनुपर्ने, मूल्य, म्याद हेर्न जान्ने हुनुपर्ने भएकाले सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने, उपभोक्ताले समेत सामान किन्दा, तयारी खानेकुरा खाँदा सचेत हुनुपर्नेमा जोड दिए ।
टीकापुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसी पालिकाले उपभोक्ता अधिकारका क्षेत्रमा काम गरिरहेको बताउछन् । केसीका अनुसार पालिकाले उपभोक्तालाई सचेत गराउने, जनचेतना जगाउने, अनुगमन गर्ने र गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने कामसमेत गरेको छ ।
पालिकामा खाद्य तथा गुण नियन्त्रण कार्यालयको सहयोगमा यस वर्ष तीन पटक, उपभोक्ता हित संरक्षण समितिबाट एक र शाखाले नियमित अनुगमन गर्ने गरेको छ । पालिकाले यस वर्ष करिब दुई सय पसल अनुगमन गरेको र ती पसलमा बच्चाले खाने तयारी खाजा, पेय पदार्थ म्याद नाघेका भेटिने गरेको उनले बताए ।
उपभोक्ता अधिकारका लागि उपभोक्ता आफै सचेत बन्नुपर्ने र नियमनकारी निकायको प्रभावकारी भुमिका रहनुपर्ने जागरुक उपभोक्ताको भनाइ छ ।








