गल्छी : खाजा खाएको पैसा तिर्नेबेला भनाभन हुँदा होटल सञ्चालकले गरे ग्राहकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी-८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् ।
आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फरार भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’, प्रहरी निरीक्षक थिङले भने । घटनापछि स्थानीयवासीले गल्छी-त्रिशूली सडकखण्ड गए रातिदेखि नै बन्द गराएका छन् । रासस








