धार्मिक र पर्यटकीय गन्तव्य पाथीभरा (तस्बिरहरू)

पाथीभरा । ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो ।

यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।

यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्‍तुवुङ’ भनेर चिन्दछन् ।

लिम्बूभाषामा ‘मुक्‍तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात् लिम्बू जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाँडामा पुग्न सकिन्छ, जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृखला अवलोकन गर्न सकिन्छ तर यसपालि भने मौसम सफा भएका कारण सो दृश्य अवलोकन गर्ने भने सकिएन ।

कसरी पुग्ने पाथीभरा मन्दिर ?
संघीय राजधानीको कोटेश्वरबाट र नयाँ बसपार्कबाट पनि ताप्लेजुङ जान सकिन्छ । माइक्रो बसमा करिब २४ घण्टाको यात्रातय गरेपछि पुगिन्छ ताप्लेजुङ, ताप्लेजुङ पुगे लगतै त्यहाँबाट बुलेरोमा सुकेटार हुँदै १ घण्टा ३० मिनेटमा सानोफेदी पुग्न सकिन्छ, सडक स्तरोन्नति कै अवस्थामा रहेका कारण केही जोखिम भने रहेको छ ।

सानोफेदी सम्म मात्र सडक पुगेकोले त्यहाँबाट भने करिब ५ किलोमिटर उकालोको यात्रा पछि मात्र पाथीभरा मन्दिर पुग्न सकिन्छ । बिचमा बास बस्नका लागि भने पर्याप्त होटल तथा लजहरूको सुविधा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *