‘चिनियाँ विहारमा डेढघण्टा बिताएका प्रचण्ड मायादेवी मन्दिरै छिरेनन्’

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान करिब ९:१५ बजे लुम्बिनी क्षेत्रमा रहेको हेलिकप्टर यार्डमा अवतरण गरे । उनी त्यहाँ पुग्दा भिक्षु, सरकारी अधिकारीसहितको टोली शोभायात्राको क्रममा अन्तर्राष्ट्रिय हलमा पुगिसकेका थिए ।

सरकारले नै आयोजना गरेको कार्यक्रम निर्धारित समयमा नै सुरु भयो । औपचारिक कार्यक्रम करिब पौने ११ बजे सकिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरु गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण भएको बताए छन् ।

‘क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्तिलाई एकअर्काको परिपूरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुसरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ,’ दाहालले भने, ‘यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ ।’

दाहालले विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो यसतर्फ ध्यान दिन उनले बौद्धिक समुदायलाई अपिल गरेका छन् । उनको यो भनाइमा सशस्त्र द्वन्द्वपछि शान्ति रूपान्तरणको विषयलाई अझै विश्व समुदायले नबुझेको भनाइको आशय बुझिन्थ्यो ।

उनी कार्यक्रमलाई सम्बोधन गरेर मायादेवी मन्दिर परिसरमा जालान् भनेर धेरैले आकलन गरेका थिए । हरेक वर्ष कार्यक्रममा सहभागी हुन आउने विशिष्ट व्यक्तिहरु मायादेवी मन्दिरमा पुग्ने गरे पनि यस वर्षको बुद्ध जयन्तीको दिन लुम्बिनी पुगेर पनि दाहाल मायादेवी मन्दिर प्रवेश नै नगरी फर्किएका छन् ।

उनी औपचारिक कार्यक्रम सकेपछि साँढे ११ बजे वृक्षारोपण गरेर बज्रयान विहार पुगेर त्यस लगतै साढे १२ बजे चाइना बिहारमा प्रधानमन्त्री पुगेको लुम्बिनी विकास कोषले जनाएको छ ।

चिनियाँ विहारमा दाहालले डेढ घण्टाभन्दा बढी समय बिताएका थिए । लामो समयसम्म त्यहाँ बस्दा चिनियाँ राजदूत चेन सोङ पनि सँगै थिए । उनले बिहारमा त्यहाँभित्रका बालबालिकालाई शैक्षिक सामाग्रीको लागि केही विद्यालयलाई केही आर्थिक सहयोग गरेको बुझिएको छ । बिहारमा अन्य विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । राजनीतिक आस्थाको कारण त्यहाँ बिताएको हुनसक्ने स्थानीयको भनाइ छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनीको मूल मन्दिर मायादेवी मन्दिरमा पुग्नु भएन,’ स्थानीय भन्छन्, ‘लुम्बिनीको मूल मर्मलाई भुलेर चाइनिज मोह प्रधानमन्त्री ज्यूमा देखियो ।’

तर स्थानीयको यो धारणालाई स्वीकार्न तयार छैनन् लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य । उनले प्रधानमन्त्रीको समय छोटो भएका कारण मायादेवी मन्दिरमा नगएको बताए ।

‘प्रधानमन्त्री ज्युले दुई घण्टा मात्र समय दिनु भएको थियो,’ उनले भने, ‘त्यसैको आधारमा कार्यक्रम तय भएको थियो, अब अर्को कार्यक्रममा उहाँ मन्दिर जानुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *