सिम्रिक एयर हेलिकप्टर दुर्घटनाका अर्का एक घाइतेलाई पनि काठमाडौँ लगियो

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेका थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्करलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटिया, सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते स्थानीय भविन गुरुङको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते क्याप्टेनसहित तीन जनाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते शङ्करको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यस अघिनै सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

हेलिकप्टरले आयोजनास्थलमा परीक्षण गरिएको माटो, ढुङ्गा तथा कङ्क्रिटलगायत सामान लिएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर बिहीबार भोटखोला पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *