लुम्बिनीको तथ्यमा विश्वको ध्यान जानु जरुरी : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरेका छन् । २५६७औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे अफ भेसाक) का रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।
उनले भनेका छन्, ‘हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रूपमा पनि मनाउँदै आएका छौँ । यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
उनले नेपाल शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीनवटा बुद्धको जन्मस्थलका रुपमा प्रख्यात रहेको बताउँदै अगाडि भनेका छन्, ‘सम्राट अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितका एक/एकवटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ । पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रह्मी लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि सो स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको थियो ।’
‘अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरूका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको थियो । नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपाका रूपमा रहेको छ, जहाँ शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले बृहत्तर लुम्बिनीलाई बुद्धहरुको पावनभूमि हो भन्ने प्रमाणित गरेको छ’, ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।
ओलीले लुम्बिनीमा संयुक्त राष्ट्र संघको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको बताउँदै लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन नेकपा एमालेको सरकारले सार्थक प्रयास गरेको उल्लेख गरेका छन् ।
‘लुम्बिनीमा पाँच हजार ध्यानीहरूले एकैपटक ध्यान गर्न सक्ने क्षमताको हल हामीले निर्माण गरेका छौँ । हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बौद्धमार्गीहरूसँगै पर्यटकहरूको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासलाई उच्च महत्व दिएका थियौँ । फस्वरूप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ’, ओलीले भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।’








