सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे ।

उनले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए । उनले कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए ।

उनले भने ‘समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । यो तानेको हो की तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । ४ वर्षअघि चेक जसले काट्यो, उसैसँग रह्यो चेक जस्ता कुराहरु । एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु रहस्यपूर्ण छ । उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =