आर्थिक संकटले पोखराका व्यवसायी पलायन

पोखरा । पोखराका व्यवसायीहरू दैनिक रूपमा पलायन हुँदै गएकामा व्यवसायीका संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले मुलुकमा निम्तिएको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेको छ । संघले एकपछि अर्को व्यवसायी पलायन रोक्न र यसले निम्त्याएको बहुआयामिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

महासचिव बलराम आचार्यले विज्ञप्ति जारी गर्दै संकटको समयमा धैर्य नगुमाउन व्यवसायीहरूलाई आग्रह गरेका छन् । ‘मुख्य बजार क्षेत्रका सटरहरू खाली भएका छन् । व्यवसायीहरू पलायन भएका छन्,’ उनले भने, ‘यो केही थान व्यवसायीको मात्रै समस्या होइन । यो राज्यको समस्या हो । राज्यले गम्भीर भएर सोच्नुपर्दछ ।’

व्यवसायीहरू बाध्यताले पलायन भएका उनको भनाई छ । बैंकको चर्को ब्याजदर, आर्थिक मन्दीका कारण व्यवसायमा आएको शिथिलता पलायनको प्रमुख कारण रहेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए । राजस्वको स्रोत गुम्दा चालु खर्च धान्न पनि वैदेशिक ऋण लिनुपर्ने अवस्था आएकोमा उनको चिन्ता छ ।

समाधानको लागि संघले नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको र त्यसक्रममा निस्केका सुझाव कार्यान्वयनका लागि सरोकारवालासँग आग्रह गरिएको छ । संघले भनेको छ, ‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन, स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न घरधनीसँग आग्रह गर्दछौँ ।

नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने प्रजापतिले बताए । घरधनीसँग मित्रवत् व्यवहार गर्न, सम्झौता अनुरूपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्नुहुन पनि व्यवसायीलाई स्मरण गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *