रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले अझै प्रयास गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गर्ने भएका छन्।
सत्तारूढ गठबन्धनमा रहेका दलहरूले रास्वपासँग वार्ता गर्ने र सहमतीमा ल्याउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएका हुन्।
बुधबार साँझ बसेको बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै रास्वपालाई सरकारमा फर्काउन प्रयास गर्ने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्रीले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता पनि गरेका थिए।
तत्काल सरकारबाट बाहिरिने भन्दै चितवनबाट आएका रवि प्रचण्डसँगको भेटपछि रोकिएका छन्। रास्वपाले तत्काल निर्णय गरिसकेको छैन। आफूले मागेको मन्त्रालय पाए सरकारमा जाने मुडमा छ।
तर सरकार विस्तारले रास्वपालाई भाग दिन सकस हुने देखिएको छ। बुधबार मात्रै नेपाली कांग्रेसबाट तीन जना मन्त्री बनेका छन्। अब उपेन्द्र यादव पनि मन्त्री बन्ने सम्भावना छ। त्यसबाहेक खानेपानी मन्त्रालय मात्रै खालि छ।
यसअघि रास्वपा सभापति रवि लामिछाने पुस ११ मा गृह तथा उपप्रधानमन्त्री नियुक्त भएका थिए । शिक्षा शिशिर खनाल र श्रम मन्त्रालयमा डिपि अर्याल गएका थिए।
तर लामिछानेको सांसद पद नै नरहेपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो।








