गणेशखोला पुलछेउमा फेरि खाल्डो, काठमाडौँ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो ।

धादिङकाे धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।

बाटो अवरुद्ध भएपछि काठमाडौँ आउन–जान त्रिभुवन राजपथ, थानकोट–कुलेखानी हेटौँडा, कान्तिलोकपथ, नुवाकोट गल्छीलगायत वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *