आशंका गर्दै शव बुझे आफन्तले, हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या भएको ११ दिनपछि अन्त्येष्टि गरिएको छ। आफन्तले त्रिवि शिक्षण अस्पतालबाट सोमबार शव बुझेर पशुपतिमा अन्त्येष्टि गरेका हुन्।
प्रहरीले घटनामा संलग्न सार्वजनिक गरेसँगै आफन्त शव बुझ्न सहमत भएका हुन्। तर उनीहरु अझै पनि निराको हत्या पक्राउ परेका विनोद बिकले मात्रै गरेका हुन् भन्नेमा विश्वस्त छैनन्।
‘बिनोदले हत्या गरेको भएपनि उसलाई कसैले लगाएको हुनुपर्छ। उसले एउटा सिक्रिकै लागि हत्या गरेको हो भन्ने हामीलाई अलिक विश्वास लागेको छैन’, सीआईबीमा पुगेका निराका माइती पक्षले भने।
उनीहरुले अरु कसैले लगाएर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
हत्या आरोपमा शनिबार पक्राउ परेका झापाका विनोद बिकलाई आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरिएको थियो।
हत्याका अभियुक्त सार्वजनिक गर्दा आफन्त पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेका थिए। उनीहरुले यो घटनाको अनुसन्धान प्रमुख समेत रहेकी एआईजी किरण बज्रचार्यसँग चासो राखेका थिए।
किरणले भने उनीहरुलाई अन्यको संलग्नता अनुसन्धानको क्रममा खुलेमा कारबाहीको दायरामा ल्याउने बचन दिएकी थिइन्। दोषि नउम्किने विश्वास दिलाउँदै उनले अन्त्येष्टि गर्न आफन्तलाई सुझाएकी थिइन्। त्यसको भोलिपल्ट सोमबार निराको अन्त्येष्टि गरिएको हो।








