जनकपुरमा शालिक विवाद चर्किँदै, मेयर साहको पुत्ला जलाइयो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १ स्थित चौबाटोमा भानुभक्त आचार्यको शालिक निर्माण गर्ने तयारीविरुद्ध मधेस केन्द्रित दलका युवा विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित युवा विद्यार्थीहरुले आज साँझ जनकपुरधामका मेयर मनोज साहको फोटो जलाएका हुन् । उनीहरूले मेयर साह विरुद्ध नाराबाजी समेत गरे ।

जनकपुरधाम १ स्थित मुख्य चोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिक बनाएर उनको नामबाट चोकको नामकरण गर्नुपर्ने उनीहरूको माग छ । शनिवार विवादका बाबजुद मेयर साहले त्यहाँ भानुभक्त आचार्यको शालिकको शिलान्यास गरेका थिए । शिलान्यास रोक्न मधेस केन्द्रित दलका युवा विद्यार्थीले प्रयास गरे, तर असफल बने । उनीहरू शिलान्यास गरे पनि निर्माण कार्य अगाडी बढाउन नदिने भन्दै आन्दोलन गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्रबाटै साह मेयरमा निर्वाचित भए । तर कांग्रेसमा फर्किसकेका उनले पार्टीकै बल पाएका कारण विवादका बाबजुद भानुभक्त आचार्यको शालिक निर्माण नै निर्माण अगाडी बढाउने अडान लिएका छन् । जनकपुरधाम १ स्थित चौबाटोमा ०६३ अगाडी भानुभक्त आचार्यको शालिक थियो । मधेस आन्दोलन चर्केका बेला आन्दोलनकारीले उक्त शालिक भत्काए र सहिद रमेश महतो चोक घोषणा गरे । तर अहिले उपमहानगरपालिकाले पुनः भानुभक्त आचार्यको शालिक निर्माण गर्ने कार्य अगाडी बढाएपछि आन्दोलन चर्केको हो ।

यता, युवा विद्यार्थीहरूले ०६३ सालमै उक्त चोकलाई सहिद रमेश महतो नामकरण हुनुपर्ने बताउँछन् । मधेस आन्दोलनको भावनाविपरीत शालिक निर्माण गर्ने कार्य अगाडी बढे जस्तोसुकै कदम चालिने लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *