महावीर पुनको माग पुरा गर्न आन्दोलनको आँधीबेहरी सृजना गरौँ : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँको माइतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको छ ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशवासीलाई अपिल गरे ।

अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे । उनले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्ने गरी आन्दोलनको आँधीबेहरी सृजना गर्न पनि सिंगो देशवासीलाई आग्रह गरे ।

अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउँदै उनले भने, ‘सरकार पक्षका मानिसहरूले आएर केही भ्रमपूर्ण कुराहरू पनि गरेजस्तो मैले बुझन पाए । यो त संसद्ले गर्नुपर्ने हो । मैले के गरौँ भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो । यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसदमा लैजानुपर्ने विषयहरू छैनन् यसमा । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् हामी भोलि पास गर्न तयार छौँ । सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस् । नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस् । त्यसलाई पारित गर्न हामी तयार छौँ । कुनै पनि ठूलो कुरा छैन । म फेरी पनि भन्छु–सरकारले ढिलो नगरोस् । यो लाजमर्दो स्थिति पालेर नराखोस् । यो लाजमर्दो स्थिति हो । देशका लागि बेइज्जतीको कुरा हो । सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाई राखेको छ । र, पनि सरकारले यहाँ धर्ना सुरु भएको ७२ घण्टा भई सक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ । म फेरी पनि भन्छु–एक छिन पनि ढिला नगरोस् यो कामको लागि । र, जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन । र, यो निर्णयमा सहमत हुन आउँदैन । तबसम्म म फेरी पनि सम्पूर्ण देशबासीहरुसँग अपिल गर्न चाहन्छु–यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन । यो देशको कुरा हो । हामी सबैले ऐक्यबद्धता व्यक्त गरौँ । देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊ । र, आँधीबेहरी सृजना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु । र, यसमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक वैज्ञानिक पुनले राख्नु भएको माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि सरकारलाई चेतावनी दिए ।

त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गरे । उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरूले सो आन्दोलन गर्नु परेको पनि पटक पटक दोहो¥याए ।

पुनले भने, ‘पहिलो कुरा यो अनुसन्धान, नवप्रवर्द्धन र आविष्कार भन्ने जुन छ । यो जुन आन्दोलन चलिराखेको छ । यो के का लागि भन्दा खेरी यो बाटोमा बस्नका लागि होइन । रमाइलो गर्नका लागि होइन । यो चाहिँ देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो । अव भन्नु होला–यो आविष्कार, अनुसन्धान र नवप्रवर्तनको काम नभएको देशको अर्थतन्त्रमा सुधार नभएको हो । शान्ति नआएको हो । अशान्ति भएपछि देशमा के–के हुन्छ ? त्यो भन्न सकिँदैन । अनुसन्धान, नवप्रवर्तन र आविष्कार भन्ने यो तीन वटा शब्द भनेको के हो भने अर्थतन्त्र सुधार्ने बीउ हो । बीउ नभईकन केही पनि उम्रँदैन संसारमा । बीच चाहिन्छ । र, यो बीउ रोपिएन भने अर्थतन्त्र सुध्रिँदैन ।’

केन्द्रका संस्थापक पुनको अगुवाइमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =