महिलाहरू एकत्रित नभएसम्म प्राप्त हक र अधिकार सुनिश्चित गर्न सकिँदैन : महिला राजनीतिज्ञ

शीर्ष नेतृत्वको दबाबले महिलाहरूले अझै आफूलाई प्रमाणित गर्न सकेनन्

काठमाडौँ । महिला राजनीतिक कर्मीहरूले दल र नेतृत्वको दबाबले महिलाहरूले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् ।

राजनीतिक पार्टीहरूको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाहरू अझै पनि आफ्ना अधिकारका विषयहरू उठान गर्नबाट पछि परिरहेको बताएका हुन् । उनीहरूले पदमा पुगेका महिलाहरूले समेत देशको समृद्धि, विकास र हीतको लागि बोल्न नसकेको बताए ।

महिलाको आफ्नो शरीरमाथि आफ्नो अधिकार विषयक शुक्रवार आयोजित कार्यक्रममा जनता समाजवादी, पार्टी नेपालकी नेतृ निर्मला यादवले अझै पनि महिला देशको अधिकार सम्पन्न पदमा पुग्न नसकेको र पुगेका महिलाहरूले पार्टीको परिबन्धनमा परेर महिलाको हक, अधिकारको बारेमा आवाज उठाउन नसकेको बताइन् । उनले संसद्को समानुपातिक प्रणाली श्रीमती राख्ने ठाउँजस्तो भएको बताइन् । उनले महिलाले पाएको अधिकारलाई समाजमा लागू गराउन सबै महिला एकत्रित हुनुपर्ने जनाइन् ।

यादव भन्छिन्, ‘हाम्रो देशको प्रधानमन्त्री अहिलेसम्म महिला भएको मैले थाहा पाएको छैन । राष्ट्रपति एक पटक बल्लबल्ल महिला आउनुभयो तर उहाँले महिलाका हक अधिकारका लागि कतिसम्म काम गर्न पाउनुभयो, कति काम गर्न दिए, त्यो कठिनाइ उहाँलाई नै थाहा छ । हामी दुई चार जना महिलाहरू ठाउँमा पुगे पनि सिम्बोलिक मात्रै पुग्छौँ । हामीले लडेर समानुपातिक समावेशी भन्ने कन्सेप्ट ल्यायौँ, अहिले तीन तहकै सरकारमा महिलाको उपस्थिति त देखाउँछ, महिलाको उपस्थिति एकदम राम्रो रहेको छ । तर ती महिलाले महिलाको हीतका लागि देशमा दिनुपर्ने योगदान दिन सकेको छ त ? देशको समृद्धि, विकास र हीतको लागि बोल्न सकेका छौँ त ? अहिले त समानुपातिक भनेको कस्तो भयो भने, श्रीमानले मान्यो भने श्रीमतीलाई दिने जस्तो भएको छ । हामीले त्यसकै लागि समावेशी समानुपातिक ल्याएका थियौँ र ? हामीले पाएको अधिकारलाई समाजमा लागू गराउन हामी महिला एकत्रित भएर लाग्नुपर्ने बेला भएको छ ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीकी सांसद सिर्जना रिजालले महिलाहरू एकत्रित भएर महिलाका हक, अधिकारको कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले नेपालमा महिलाहरू नै विभाजित रहेको भन्दै महिलाहरू एकत्रित हुन नसक्दा महिलाका हक अधिकार सुनिश्चित हुन नसकेको जनाइन् । उनले राजनीतिक पार्टीको दबाबले मनका कुरा पनि व्यक्त गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टीका पुरुष नेतृत्वहरुले आफ्नै घरमा भएका महिला हिंसाका बारेमा कुनै आवाज नउठाएको बताइन् ।

उनी भन्छिन्, ‘हरेक विषयको सकारात्मक र नकारात्मक हुन्छ नै । हाम्रो समाजमा जे भइरहेको छ, हामीलाई भन्न अफ्ठ्यारो लागेको छ । तर वास्तविकता त्यही छ । महिलाहरू कसरी एकै ठाउँ बसेर महिलाका हक अधिकारको कार्यान्वयन गर्ने भन्ने बारेमा एकजुट हुन जरुरी छ । हामी नेपालमा हामी महिलाहरू विभाजित भएका छौ, जस कारण पनि हाम्रो निष्कर्ष एउटै हुन सकेन । हामी कतै न कतै राजनीतिक पार्टीसँग पनि जोडिएका छौँ । सडकमा गएर बोल्न मन लागेको छ एउटा कुरा पार्टीले भन्छ अर्को कुरा । समस्या पर्छ नि । म के बोल्नु । म दोधारमा छु नि त । सडकमा एउटा पार्टीको बैठकमा एउटा भन्नुपर्छ । हाम्रो पार्टीका नेतृत्वहरू सडकमा महिलाका अधिकारका कुरा गर्नुहुन्छ, तर उहाँहरूको घरमै महिला हिंसा भयो भनेर कति मुद्दा परेका छन् । सडक, सदन र पार्टीको बैठकमा बोल्ने भाषा फरक छ ।’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की नेतृ पार्वती विशुन्खेले नेपालले बाहिरी मुलुकको समाजवाद भित्र्याएर देशको विकास हुन नसक्ने बताइन् । उनले बाहिरी मुलुकको जस्तो समाजवाद नेपालमा भित्र्याउँदा आवश्यक वर्ग र समुदाय समेटिन नसक्ने बताइन् । उनले प्रकाश सपुतको गीत साकम्बरी महिलाहरू नै यो समाजका लागि नालायक छन् भन्ने गरी ल्याइएको भन्दै आपत्ति जनाइन् ।

नेपाल भन्छिन्, ‘नेपालको परिवेशमा समाजवाद भनेको वर्गले मात्रै होइन, विविध खालका शोषणहरू छन् । जातीय विभेदका कुरा छन्, त्यसको उठान भएका छैनन् । रुस तिरको समाजवाद देखाएर नेपालमा लागू गर्न खोजेका छौँ, त्यसले जुन वर्गका लागि ल्याउनुपर्ने हो त्यो छुट्छ, हामी त्यसको विरुद्धमा जानुपर्छ । साकम्बरीको कुरा गर्दा महिलाहरू नै यो समाजका लागि नालायक छन् जस्तो गरी ल्याइएको छ, जुन पुरुषको काम लुकाइएको छ । यो भनेको समाज र महिलाप्रति हेर्ने दृष्टिकोण र व्यवहारसँग सम्बन्धित हुन्छ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पार्वती थापाले महिलाको हकहितको लागि लडेको मानिसलाई छुवाछुतको व्यवहार गर्नु नहुने बताइन् । उनले माओवादी जनयुद्धमा हिँड्दा अछुतो व्यवहार गर्ने स्थितिबाट आन्दोलनको उपलब्धीले नै यो अवस्थामा आइपुगेको बताइन् ।

उनी भन्छिन्, ‘जुनसुकै विचार, पार्टीमा लागेर होस् वा स्वतन्त्र रूपमा आन्दोलन गर्ने व्यक्ति किन नहोस्, जुनसुकै ठाउँबाट आन्दोलन गरे पनि यदि महिलाको हकहितको लागि लडेको छ भने त्यसलाई किन छुवाछुतको व्यवहार गर्ने ? माओवादी जनयुद्धताका हामीलाई अछुतो व्यवहार गरिन्थ्यो । परिवारका सदस्यलाई नै डोमिनेट गर्दथे । विचारले हामीलाई फरक पारेको छ, विचारमा हामी एकसाथ नहोउन्जेलसम्म महिलाका हक अधिकारसम्बन्धी काम गर्न सक्दैनौँ ।’

नेतृ थापाले महिलाहरू विचारमा एकसाथ नहुन्जेलसम्म महिलाका हक, अधिकारहरू सुनिश्चित गर्न नसकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =