सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्छौँ : महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका पुनले यस्तो चेतावनी दिएका हुन् ।

नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने उनको भनाई छ । उनले सांसदहरूले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । अरू हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै पुनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको उनको भनाई छ ।

सञ्चालक पुनले अगाडि भने, ‘अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोइ ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । अरू पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसद्मा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसद्मा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो । यो सांसदको जिम्मा हो । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभई नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याङ्ग्रो ठोक्दै लखेट्नुपर्छ ।’

उनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए । उनले आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता जनाएको बताए । संसारमा नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने पुनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =