एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा चर्काचर्की, कसले के भने ? (भिडिओ)

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए ।

सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो । विरोध जनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताए । उनले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गरे । संसद्ले झुटो कुरा गर्नु नहुने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएको बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्य व्यवस्था परामर्श समितिको दोष भएको बताए ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए । उनले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाई छ ।

सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गरेका थिए ।

सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटको लागि स्थगन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =