भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिवलाई निर्माण व्यावसायीले कार्यकक्षमै थुने

जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्ण कुमार मिश्रलाई निर्माण व्यवसायीहरुले कार्यकक्षमै थुनेका छन् ।

विकास निर्माणका काम सम्पन्न गरेपनि भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीहरुको एक समूहले मन्त्रालयका सचिव मिश्रलाई कार्यकक्षमै थुनेका हुन् । कार्यकक्षको मुल ढोकामा ताला लगाएर निर्माण व्यावसायीहरुले मन्त्रालयका सचिव मिश्रलाई थुनेका थिए ।

केहिबेरमा प्रहरीको टोली पुगेपछि निर्माण व्यावसायीहरुले ताला खोलेका छन् । उनीहरु मधेस सरकार र मन्त्रीविरुद्ध विरोध प्रदर्शन समेत गरे । धनुषाका प्रहरी प्रवक्ता डिएसपी विक्रम साहले भुक्तानी नपाएको भनेर छलफल गर्न गएका केहि निर्माण व्यावसायीहरुले सचिव मिश्र कार्यकक्षमै रहेका बेला बाहिरबाट ढोकामा तालाबन्दी गरेको र प्रहरी पुगेपछि खोलेको बताए ।

उनले भने, ‘ऋण लिएर विकाब निर्माण काम गरेको तर दुई वर्ष वितिसक्दा समेत भुक्तानी नदिएपछि ब्याज तिर्न पनि समस्या भएको निर्माण व्यावसायीहरुको गुनासो छ ।’

साढे दुई वर्षदेखि भुक्तानी दिन आलटाल गरेपछि बाध्य भएर सचिवलाई थुनेको निर्माण व्यावसायी खुशीलाल ठाकुरले बताए ।

उनले भने, ‘हामी ऋणमा डुबिसकेका छौं । तर सरकारलाई मतलब छैन् । कम्तिमा काम गरेको भुक्तानी त हामीलाई दिनुपर्यो नी ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्पन्न भएको योजनाहरुको करिब ६० करोड रूपैया भुक्तानी गर्न बांकी छ । अन्य मन्त्रालयले समेत करिब सयौं योजनाको एक सय करोड बढी भुक्तानी नगर्दा उपभोक्ता र निर्माण कम्पनीहरु समस्यामा परेका छन् ।

भुक्तानी समस्या समाधान गर्न सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा संसदीय समिति समेत बनेको छ । तर समितिले समेत केहि काम गर्न सकेको छैन् ।

समितिकी संयोजक तिवारीले कर्मचारीहरु समयमा फाइल नदिएपछि योजनाहरुको अनुगमन समेत गर्न नपाएको गुनासो केहिदिन अगाडी संसदमै गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *